कोरोना संक्रमणबाट शुक्रबार मात्रै ५ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट आज (शुक्रवार) मात्रै थप २ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताल र पर्साको नारायणी अस्पतालमा १–१ गरी थप २ जनाको मृत्यु भएको हो ।
शुक्रबार बलम्बुस्थि सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई ग्रिनसिटी अस्पतालबाट बिहीबार मात्रै बलम्बु अस्पताल ल्याइएको थियो ।
साउन ३० गते सप्तरीबाट काठमाडौं आएका ती पुरुषले कोरोना परीक्षणका लागि वीर अस्पतालमा स्वाब दिएका थिए । ३२ गते कोरोना पोजेटिभ रिपोर्ट आएपछि ग्रिनसिटी अस्पतालमा उपचाररत रहेका उनको अवस्था गम्भीर बन्दै गएपछि बिहीबार मात्रै बलम्बु अस्पताल पठाइएको थियो ।
वीरगन्जस्थित नारायाणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ५५ वर्षीय पुरुष रौतहटको ईशनाथ नगरपालिका–९ डुमरियाका हुन् ।
ज्वरो, खोकी, पखाला र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शिव दर्शन सेन्ट्रल अस्पताल रौतहटमा उपचार गरिएको थियो । बिरामीको स्थितिमा सुधार नआएपछि अस्पतालले थप उपचारका लागि वीरगञ्ज रिफर गरेको थियो ।
गम्भीर अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएका उनको दुवैतिरको फोक्सोमा निमोनिया देखिएको र शरीरमा अक्सिजनको मात्रा निकै कम भइसकेको हुँदा उनलाई बचाउन नसकिएको नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा। निरज सिंहले बताए ।
यसअघि शुक्रबार नै ललितपुरको पाटन अस्पतालमा २ जना तथा रुपन्देहीको बुटवल कोरोना विशेष अस्पतालमा १ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो ।
जिल्ला कोडिभ–१९ व्यवस्थापन केन्द्र ललितपुरका अनुसार पाटन अस्पतालमा उपचाररत दोलखाकी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।
कोरोनाका कारण ज्यान गुमाएकी दोलखाकी महिला भदौ २ गते पाटन अस्पताल भर्ना भएकी थिइन् । यस्तै, सर्लाहीका पुरुष भने साउन ३१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
यस्तै, प्युठानको स्वर्गद्वारी नगरपालिका–७ घर भएका ६४ वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा शुक्रवार विहान मृत्यु भएको छ ।
केही समय अगाडि भारतबाट उनी नगरपालिकाको क्वारेन्टाइमा बसिरहेका थिए । क्वारेन्टाइनमा स्वाब संकलन गरी परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको थियो ।
कोरोना संक्रमण पुष्टि पछि पनि प्युठानमै उपचार भइरहेकोमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या बढ्दै गएपछि उनलाई बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल ल्याइएको थियो ।
भदौ १ तगेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएकोमा शुक्रबार उनको मृत्यु भएको बुटवल कोरोना विशेष अस्पतालका कोरोना फोल पर्सन डा सुदर्शन थापाले जानकारी दिए ।