कोशीमा केन्द्रका सत्ताधारी नेताहरुले संविधानको उल्लंघन गरेकै हुन् : बाबुराम भट्टराई

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले कोशी प्रदेशमा केन्द्रका सत्ताधारी नेताहरुले जानीजानी संविधानको उल्लंघन गरेको बताएका छन्। शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले त्यसलाई सच्याएको सर्वोच्च अदालतलाई धन्यवाद भनेका छन्।
‘प्रसंग १ नम्बर प्रदेशको (क्षमा गरियोस् नामाकरण ठीक भएन!) हो! त्यहाँ जानीजानी केन्द्रका सत्ताधारी नेताहरूले बलप्रयोग गरेर प्रदेश सरकार निर्माणमा संविधानको ठाडो उल्लंघन गरेकै हुन्! त्यसलाई सच्याएर सर्वोच्च अदालतले संविधान र राजनीतिक नैतिकताको रक्षा गर्न योगदान पुर्याएकोमा सम्मानित अदालत धन्यवादको पात्र छ’, उनले लेखेका छन्।
कोशी प्रदेशमा कांग्रेस सांसद उद्धव थापाले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्दा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर बुझाएका थिए। त्यसरी गठन भएको सरकारलाई सर्वोच्चले हालै असंवैधानिक ठहर गरेको थियो। त्यतिबेला सत्ताधारी पार्टीका केन्द्रीय नेतृत्वले नै सभामुखको हस्ताक्षरसहित दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो।
भट्टराईले संविधानका निर्माताहरू नै आफ्नो छुद्र दलीय/गुटीय/निजी स्वार्थका निम्ति संविधान मिच्छन् र मिच्न लगाउॅछन् भने संविधानको रक्षा कसले गर्छ? भन्दै प्रश्न गरेका छन्।
‘रक्षक नै भक्षक बनेपछि कसको के लाग्छ? एक पटक आफ्नो सरकार नबने नबनोस्,मध्यावधि चुनाव भए होस् तर संविधान र लोकतन्त्र नमरोस् भन्न किन नसकेको?’, उनको प्रश्न छ, ‘आफू र आफ्नो दल हारेर पनि लोकतन्त्र, संविधान, देशले जितोस् भन्ने राजनेताहरूको जन्म कहिले होला?’