क्यानको कारबाहीमा परेका क्रिकेटरले भने– ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नआओ‌स्

काठमाडौं– ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरले नेपाल क्रिकेट संघ (क्यान)लाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन्।

आफ्नो अधिकारका लागि आवाज उठाएकै आधारमा देशका लागि वर्षौं खेलेका, आफ्नो इच्छा आकांक्षा मारेर क्रिकेटमा लागेका खेलाडीहरुलाई कारबाही गरेको भन्दै उनीहरुले क्यानको निर्णयमा पुनर्विचार हुनुपर्ने माग गरेका हुन्।

मंसिर २९ गते बसेको क्यानको बैठकले अनुशासन उल्लघंन गरेको भन्दै राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो।

कप्तानबाट मल्ललाई हटाएर उक्त जिम्मेवारी लेग स्पिनर सन्दीप लामिछानेलाई दिइएको छ। यता, उपकप्तानको जिम्मेवारी भने कसैलाई पनि दिइएको छैन। यस्तै उनीहरूलाई ६ महिनाको सेन्ट्रल कन्ट्र्याक्ट समेत राखिएको छैन।

शुक्रबार नक्सालस्थित होटल क्राउन प्लाजामा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुलाई जिम्मेवारीबाट हटाउनुको साथै ६ महिनासम्म सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने जस्ता कारबाही गरिएको समाचारले निकै दुखी बनाएको बताए।

‘के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो?’,उनीहरुले विज्ञप्ति निकालेर सोधेका छन्, ‘हामीले बुझेको खेलाडीहरूको ग्रेडिङ उसले पाउने तलब मात्रै होइन। देशका लागि गरेको योगदानको कदर पनि हो, अझै राम्रो गर्न प्रोत्साहन पनि हो। यस कारबाहीले भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला?’

उनीहरुले खेलाडीले क्रिकेटमा देखिएका सबै समस्याको हल गर्नुपर्ने भन्दै तत्काल संवाद अघि बढाउन क्यानलाई आग्रह गरेका छन्।

‘पछिल्लो समय खेलाडीहरुको ग्रेडिङलाई लिएर जुन विवाद देखिएको छ, यसले हामीलाई अत्यन्तै दु:खी बनाएको छ। तर, अहिलेका सबै समस्याको समाधान होस्। खेलका लागि राम्रो वातावरण नबनोस्’, उनीहरुले भनेका छन्, ‘यसका लागि क्यानले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस्। हामी र हामीजस्ता क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नआओस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button