खाली सिलिण्डरको मूल्य २१ सय रुपैयाँ कायम

काठमाडौं । अब खाली सिलिण्डरको मूल्य २१ सय रुपैयाँ कायम भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले बागमती प्रदेशमा एलपी ग्यासको खाली सिलिण्डरको धरौटी रकम २१ सय रुपैयाँ तोकेको हो ।
बजारमा कम्पनीअनुसार सिलिण्डरको धरौटी रकममा मनपरी मूल्य भएपछि त्यसलाई एकरुपता दिन यस्तो निर्णय गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।
बागमती प्रदेशमा शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको सिलिन्डरसहित किन्दा ३४ सय ७५ रुपैयाँ खर्च गर्नुपर्ने भएको हो ।
निगमले तोकेको ग्यासको प्रतिसिलिण्डर मूल्य १३ सय ७५ र सिलिण्डरको धरौटी २१ सय गरेर भरी सिलिण्डर ग्याससहित नयाँ सिलिण्डरको मूल्य निर्धारण गरिएको अध्यक्ष भण्डरीले बताए ।
यसअघि खाली सिलिण्डरको मूल्य कम्पनी अनुसार फरक थियो । खाली सिलिन्डरको मूल्य पसलेहरुले तीन हजार देखि माथि लिने गरेका थिए ।