गएको वैशाखयता नेपालमा विपद्का घटनामा ४६५ जनाको ज्यान गयो

काठमाडौं । गएको वैशाख महिनायता नेपालमा विपद्का विभिन्न घटनामा परि चार सय ६५ जनाको ज्यान गएको छ ।
गएको वैशाख १ गतेदेखि बुधबारसम्ममा चार सय ६५ जनाको ज्यान गएको र एक सय एक जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यस अवधिमा सबैभन्दा बढी पहिरोमा परि दुई सय ९५ जनाको ज्यान गएको छ । यस्तै चट्याङ लागेर ६५ जना, बाढीबाट ४२ जना र सर्पको टोकाइबाट २१ जनाको ज्यान गएको छ ।
यस्तै निरन्तरको झरीबाट १५ जना, जनावरको आक्रमणबाट १४ जना र आगलागीबाट १३ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । यस अवधिमा विपद्सम्बन्धी दुई हजार ७२ वटा घटना भएका थिए । ती घटनामा आठ सय १० जना घाइते भएका छन् ।
दुई हजार तीन सय दुई वटा पशुचौपायको क्षति भएको छ । विपद्का घटनामा ८६ करोड १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको पनि प्राधिकरणले जनाएको छ ।