गायिका अन्जु पन्त पुनः वैवाहिक जीवनमा बाँधिदै
काठमाडौं । गायिका अन्जु पन्त पुनः वैवाहिक जीवनमा बाँधिने भएकी छन् । गायक तथा संगीतकार मनोज राजसँग सम्बन्ध विच्छेद गरेको १ दशकपछि गायिका पन्तले विवाहको तयारी गरेकी हुन् ।
अञ्जुले आफ्ना प्रेमी थिर कोइरालासँग विवाह गर्न लागेकी हुन् । इलाम घर भएका थिर र अञ्जु दुवै इसाई धर्ममा विश्वास गर्छन् ।
विवाहको विषयमा दुवै जनाको परिवारमा कुराकानी समेत भइसकेको जनाइएको छ । तर, विवाह भने तत्कालै नहुने थिरको भनाइ छ । अबको १ वर्षभित्र विवाह गर्ने गरी दुवैजनाले तयारी थालेको थिरले बताएका छन् ।
थिर र अञ्जुबीच विवाह हुने विषयमा अहिले सामाजिक सञ्जालमा समेत चर्चा छ । तर, थिर भने सामाजिक सञ्जालमा चर्चा भएजस्तो आफूहरुले तत्कालै बिहे गर्ने सोचमा नभएको बताउँछन् ।
बजारमा दुवैले भ्यालेन्टाइनको समयमा विवाह गर्न लागेको हल्ला पनि चलेका छन् । तर, थीरले भ्यालेन्टाइनमा पोखरामा अञ्जु पन्तको कार्यक्रम रहेकाले त्यो मितिमा विवाह हुने सम्भावना नरहेको बताए ।
‘खासमा हामी अर्को साल विवाह गर्ने सोचमा थियौं । अचानक यो खबर बाहिरिएपछि लामो समय नराख्ने कि भन्ने सोचिरहेका छौं,’ थीरले भने, ‘ फागुन वा वैशाखको मिति हेरिरहेका छौं ।’
थीर र अञ्जु पन्तको पहिलो भेट आजभन्दा ६ वर्षअघि भएको थियो ।
उसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ नामको कार्यक्रम चलाउँथे । अञ्जु सोही कार्यक्रममा अतिथि बनेर आउँदा अञ्जु र थीरको पहिलो चिनजान भएको थियो ।
‘यो २०१३ को कुरा हो । त्यसबेला एकदमै औपचारिक कुराकानी मात्र भएको थियो । सन् २०१७ मा उहाँले अञ्जु पन्त फाउन्डेसन खोल्ने सिलसिलामा बल्ल गतिलो चिनजान भएको हो,’ थीरले भने । थीरका अनुसार विगत एक वर्षदेखि भने मित्रता गहिरो भएर यहाँसम्म आइपुगेको हो ।
‘एक वर्षयता भने हामी विवाह गरौं भन्ने सोचाइमा पुगेका हौं,’ थीरले भने । थीरले स्थापना कालदेखि नै फाउन्डेसनमा सचिवको रुपमा काम गरिरहेका छन् ।
गायक मनोजराजसँग कलिलै उमेरमा विवाह गरेकी अञ्जुकी १५ वर्षकी छोरी छिन् । थीरले विवाहका लागि अञ्जुको छोरी पारितोषिकाको पनि अनुमति रहेको बताए ।
‘खासमा अञ्जुजी धेरै पछिसम्म पनि विवाह गर्ने सोचमा हुनुहुन्थेन । पारितोषिकाले नै उहाँलाई पनि कन्भिन्स गरेकी हुन् । यो विवाह हुनमा उनको ठूलो योगदान छ,’ थीरले भने ।