ग्लोबल आइएमईको देशव्यापी डिजिटल बैंकिङ्ग साक्षरता अभियान सम्पन्न
काठमाण्डौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले आज एक विज्ञप्ति जारी गर्दै देशव्यापी वित्तीय साक्षरता अभियान कार्यक्रम अन्तर्गत १७५ भन्दा बढी डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रमको आयोजना गरेको जानकारी दिएको हो ।
सातै प्रदेशका गाँउदेखि शहरसम्म डिजिटल बैंकिङ्ग साक्षारता कार्यक्रमहरु आयोजना गर्ने लक्ष्यसहित सुरुभएको अभियानले हालसम्म ७ वटै प्रदेशमा १७५ भन्दा बढी डिजिटल बैंंकिङ्ग साक्षरता कार्यक्रमहरु आयोजना गरिसकेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘बैंकले स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्यका साथ यस अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाएको छ ।
बैंकले बैंकिङ्ग सेवा कम समयमै छिटो तथा छरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताको लागि यस्ता कार्यक्रमहरु देशव्यापी अभियानको रुपमा चलाएको जारी विज्ञप्तिमा उल्लेख छ ।
आजको समयमा डिजिटल बैंकिङ्ग अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरुलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङ्गको प्रयोग र यसका फाइदाहरुको बारेमा सर्वसाधारणसमक्ष जानकारी पुर्याउनु जरुरी रहेको बैंकले जनाएको छ ।