‘घरबेटी’ले कोरोनाका बेला प्रचण्डलाई दिएको तनाब !

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७४ साल मंसिर २९ गते लाजिम्पाटबाट खुमलटार सरेका थिए।
छोरा प्रकाश दाहालको निधन पछि विक्षिप्त बनेकी पत्नी सीताको आग्रहमा प्रचण्ड परिवार लाजिम्पाटबाट खुमलटार सरेको बताइएको थियो ।
खुमलटारको घर विवादास्पद ठेकेदार शारदा प्रसाद अधिकारीको हो ।
घरबेटी अधिकारीले प्रचण्डसँग भाडा लिए वा लिएनन् भन्नेबारे केही खुलाइएको छैन ।
यसअघि लाजिम्पाटमा पनि प्रचण्ड एक जना विवादित व्यवसायीको घरमा बसेको आरोप लागेको थियो ।
पछिल्लो समय शारदा प्रसाद अधिकारी अर्थात प्रचण्डका घरबेटी विवादमा तानिएका छन् ।
ठेक्का समयमा पूरा नगर्ने भन्दै उनले बदनामी कमाएका थिए ।
सत्तारुढ दलका अध्यक्ष प्रचण्डसँगको विशेष सम्बन्धका आधारमा उनले ठूला ठेक्काहरु हात पर्ने गरेको आरोप लाग्ने गरेको थियो ।
ठेक्का लिने र सम्झौता अनुसार काम पूरा नगर्ने भएपनि अधिकारीमाथि कुनै कारबाही हुन सेकेको छैन । बरु उनले प्रचण्डलाई रिझाउन घरमा बस्न दिएको आरोप सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले लगाएका छन् ।
लामो समयदेखि अधिकारीका गलत काममा प्रचण्डले काँध थापेको आरोप लाग्ने गरेको भएपनि प्रचण्ड र उनको सचिवालयले उक्त विषयबारे खण्डन गर्न उचित सम्झिएको छैन ।
आम रुपमा धेरै विरोध भएको भन्दै प्रचण्डले अर्को घर सर्नुपर्ने तर्क कतिपय नेकपाका नेता कार्यकर्ताहरुको नै छ ।
नेकपाका नेतासमेत रहेका विदेश विभाग उपप्रमुख विष्णु रिजालले निरन्तर बदनाम हुँदा पनि नेताहरुले व्यापरिक समूह र बदनाम ठेकेदार किन छोड्न नसकेको होला भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्तामाझ त प्रचण्ड र ठेकेदार अधिकारी निरन्तर गालीको पात्र बनिरहेका छन् ।
भदौ सकिनै लाग्दा पनि ठेकेदार अधिकारीले मल नल्याएपछि आइतबार कृषि सामाग्री कम्पनी लिमिटेडले धरौटी जफत गर्ने निर्णय गरेसँगै घरबेटीको प्रसंग चर्चामा रहेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले मल नल्याएको आरोपमा शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले राखेको पाँच प्रतिशत बैंक धरौटी जफत गर्ने निर्णय गरेको छ।
जसमध्ये शैलुङ ठेकेदार अधिकारीको कम्पनी हो ।
कृषी सामाग्री कम्पनीको आइतबार बसेको बैठकले दुवै कम्पनीले ठेक्का सम्झौता गर्दा राखेको धरौटी रकम जफत गर्ने निर्णय गरेको हो। शैलुङले चार लाख ४०२ अमेरिकी डलर र होनिको मल्टिपलले तीन लाख ७७ हजार ३७५ डलर रकम धरौटी राखेका थिए।
दुवै कम्पनीले शुक्रबार मल ल्याउन लागिरहेकाले भन्दै ठेक्का सम्झौताको समय थप्नुपर्ने प्रस्ताव राखेका थिए।
दुवै कम्पनीले मल आपूर्ति गर्ने अन्तिम समय भदौ २० गते थियो। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार उनीहरूले अहिलेसम्म एक बोरा मल नेपाल ल्याउन सकेको देखिएन।
सरकारले समयमै मल ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना भइरहेको थियो । कोरोना त्रासकाबीच १० किलो मलका लागि घन्टौ लाइन सकेको तस्वीरहरु सार्वजनिक भएको थियो ।
त्यसपछि सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल पैंचोमा माग्नु परेको थियो। त्यसयता प्रचण्डका घरबेटी अधिकारीको चर्को आलोचना भइरहेको थियो ।
प्रचण्डको जवाफः घर खोज्दैछु
घरबेटीका कारण आफू थप बदनाम हुने डरले अध्यक्ष प्रचण्डले बस्नका लागि नयाँ घर खोजिरहेको बताएका छन् ।
आइतबार नै एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रचण्डले आफू काठमाडौंमा नयाँ घरको खोजिमा रहेको बताएका हुन् ।
उनले आफ्ना घरबेटीले के गर्छन् कता ठेक्का लिन्छन् भन्ने आफूलाई थाहा नभएको र घरमा सर्नु भन्दा पहिलादेखि उनले लिएका ठेक्काहरु भएको बताए ।
‘ठेक्कापट्टासँग जोडेर पटकपटक मेरो घरभेटी भन्ने आइरहेको छ, मैले अब अर्को घर खोज्न थालेको छु’ प्रचण्डले भने, ‘कता ठेक्का लिन्छन, के गर्छन् ? मलाई केही थाह पनि छैन, बाटाहरुका ठेक्का त म यो घरमा आउनुभन्दा धेरै पहिलेका ठेक्का हुन् ।’
प्रचण्डले मल प्रकरणमा आफूले कृषि मन्त्रीसँग कुराकानी गरेको र कसैले बदमासी गरेको भए कारबाही गर्न आग्रह गरेको दाबी पनि गरे ।
प्रचण्डले आफू बसेको घरदेखि खाटसम्ममा बिरोध भएको भन्दै गुनासो समेत गरे ।
यसअघि प्रचण्ड १० लाखको खाटमा सुत्ने गरेको भन्दै समाचारहरु सार्वजनिक भएको थियो । आफ्ना बारेमा अनावश्यक भ्रम छर्ने काम भइरहेको प्रचण्डको भनाइ छ ।
प्रचण्डले भनेजस्तै अब उनी काठमाडौंमा कोठा खोजिरहेका छन् । आलोचना जारी रहेको खण्डमा कोरोना भाइरसको महामारीका बीच तत्कालै अर्को घर खोज्न प्रचण्डलाई थप दबाव पर्ने छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रचण्डलाई अब बदनाम नभएका पात्रको घरमा बस्न सुझाव दिएका छन् । अब समयले बताउने छ प्रचण्ड खुमलटारबाट कहाँ सर्नेछन् र उनका नयाँ घरबेटी कस्ता हुनेछन् भनेर ।