चर्को शुल्क बृद्धिको विरोधमा पोखरा विश्वविद्यालयमा तालाबन्दी

पोखरा । पोखरा विश्वविद्यालयमा विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । विद्यार्थीको हक हितका लागि संघ संगठनले तालाबन्दी गरेका हुन् । अत्यधिक शुल्क बृद्धिको विरोधमा उनीहरूले तालाबन्दी गरेका हुन् ।

हरेक विषय र फ्याकेल्टीमा ५० देखि ५५ प्रतिशत शुल्क बढाइएको नेविसंघका नेता सन्दीप अधिकारीले बताए । पटक पटक जानकारी गराउँदा पनि नमानेपछि तालाबन्दीको अवस्थामा पुगेको उनको भनाइ छ । क्याम्पस प्रशासनले यसबारे अध्ययन गर्नका लागि विद्यार्थी संघ संगठन सम्मिलित अध्ययन समिति बनाएको छ । विद्यार्थीहरूले भने आफ्ना मागलाई सामान्य ठानेर क्याम्पसले झुलाउने प्रयास गरेको बताएका छन् ।

पुस १८ गते पनि उपकुलपतिको कार्यालयमा पुगेर माग राखेको अधिकारीले सुनाए । तर उपकुलपतिले वास्ता नगरेपछि विद्यार्थीहरू तोडफोडमा उत्रिए । क्याम्पस प्रशासनले विद्यार्थीका माग सुन्नुको सट्टा उल्टै जिल्ला प्रहरी र प्रशासन कार्यालयमा किटानी जाहेरी दिएको छ । राजीव भण्डारी, फिरोज सुवेदी र युनिक लम्सालविरुद्ध किटानी दर्ता भएको हो ।

उपकुलपति प्रेमनारायण अर्यालले विद्यार्थीहरूको माग सामान्य रहेपनि तोडफोडमा उत्रनु गैर कानूनी भएको बताए । शुल्क बृद्धि पनि विद्यार्थीकै हितका लागि बढाएको भन्दै उनले भने, ‘७ वर्षदेखि नबढेको शुल्क बढाएको हो । शुल्क नै नबढाए विश्वविद्यालय कसरी चल्छ ?’ पोखरा विश्वविद्यालयमा आजभोलि निरन्तर जस्तै आन्दोलन र तालाबन्दीका घटना भइरहन्छन् । जसका कारण विद्यार्थीको पढाइ रोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button