चापागाउँमा सञ्चालित फुड बैंक मात्र रोक्नु यो कस्तो राजनीतिक विभेद हो ?


केदार नाथ दहाल, ललितपुर / कोरोना भाइरसको महामारीले विश्वमा मात्र नभई पछिल्लो समय नेपालमा पनि संक्रमितको संख्या बढ्दै छ । कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दै छ।
भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाको लामो समय देखि उद्योग कलकारखाना ठप्प छन्। उद्योग कलकारखाना काम गर्ने श्रमिक दैनिक ज्यालादारी गरेर आफ्नो गुजारा चलाउने मजदुरहरुलाई रोगले भन्दा पनि भोकै मरिने चिन्ता बढेको छ।
धेरै श्रमिक मजदुरहरुको चुल्होमा आगो बल्न छाडेको छ। दैनिक ज्यालदारी गरेर रोजीरोटी गर्दै आएका मजदुरहरु खान नपाउने अवस्थामा पुगेका छन्।
लकडाउनको सुरुवाती समयमा स्थानीय सरकारले केही राहत वितरण गरेको भएपनि त्यो राहतले केही दिन मात्र गुजारा चल्यो। यस्तो अवस्थामा दु:खी गरीब मजदुरहरु भोक भोकै मर्नु नपरोस् भनेर काँग्रेस नेता मीन कृष्ण महर्जनको समन्वयमा नेपाल तरुण दल ललितपुर क्षेत्र नं एकका युवाहरुले चापागाउँको बज्रबाराहीमा पहिलो पटक फुडबैंक सञ्चालनमा ल्याए ।
दैनिक ज्यालादारी गरेर आफ्नो गुजारा चलाउने श्रमिक मजदुरहरूलाई लक्षित गरी “हुनेले दिएर जाउँ नहुनेले लिएर जाउँ” अभियानका साथ फुड बैंक सञ्चालनमा विभिन्न संघसंस्था र व्यक्ति मार्फत सहयोग हुदै आएको थियो। प्रभावकारी ढंगले अघि बढेको यो अभियानलाई निरन्तरता दिएको दशौं दिनमा स्थानीय प्रशासनले रोक लगायो।
सत्तारुढ दलका जनप्रतिनिधिको दबाबमा फुड बैंक सञ्चालनमा रोक लगाएपछि राहत लिन लाइन बसेका मजदुरहरूको आँखा रसाए। आफैले मतदान गरेर पठाएका जनप्रतिनिधिले पदको दुरुपयोग गरेर प्रशासन लगाएर फुड बैंक सञ्चालनमा रोक लगाएको सुनेपछि उनीहरू आक्रोशित भए। त्यसो त राहत वितरणका लागि सरकारले गरेको एकद्वार नीति अनुसार स्थानीय,प्रदेश,केन्द्र सरकारले राहत वितरण गर्नु पर्नेमा नागरिकस्तरबाट भइरहेका राहत वितरणका कार्यक्रमलाई प्रोत्साहन गर्नुको साटो उल्टै प्रशासन लगाएर फुड बैंक सञ्चालनमा कतिको जायज होला ?
सत्तारुढ दलका जनप्रतिनिधिको दबाबमा फुड बैंक सञ्चालनमा रोक लगाएपछि सामाजिक सञ्जालमा त्यसको चर्को विरोध हुन थालेको छ। तरुण दल मात्र नभएर सामाजिक अभियान्ताहरुले स्थानीय प्रशासन र ती जनप्रतिनिधिको चर्को विरोध गर्दै आएका छन्।
नेपाली काँग्रेसका महासमिति सदस्य मीन कृष्ण महर्जनले खानै नपाएर भोकै भएका दुःखी, गरिब, दैनिक ज्याला मजदुर गरि जिविका गुजारा गर्नेहरुलाई राहत वितरण गर्दा कम्युनिष्ट सांसदहरुलाई टाउको दुखाई किन ? भन्दै प्रश्न गरेका छन्। उनले यस्तो महान कार्यको प्रशंसा गर्नको साटो उल्टै पदको दुरुपयोग गरेर प्रशासन लगाएर यो पुण्य काम बन्द गर्ने दुस्साहस किन ? भन्दै नेता महर्जनले सक्छौ आफुपनि गरेर देखाउन नसके अरुले गरेको कामको विरोध गर्ने कार्य बन्द गर भनेका छन्।
नेपाली कांग्रेसका नेता पुर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाले नागरिकस्तरबाट भइरहेका राहत वितरणका कार्यक्रमलाई सरकारले प्रोत्साहन गर्नुको साटो राजनीतिक आस्थाका आधारमा बन्द गराएको भन्दै आपत्ति जनाए। उनले सामाजिक सञ्जालमा लेखेका छन् -“सामाजिक दूरी कायम गर्दै नेपाल तरुण दलले सामाजिक सेवाभावले सुरु गरेको फुड बैंक कुनै राजनीति अभिप्रायबाट प्रेरित थिएन, ‘तर प्रशासनले यसमा रोक लगाउन अत्यन्तै निन्दनीय मात्र होइन, मानवीय संवेदनाहीन कार्य हो।
म सरकारको गैरजिम्मेवारपूर्ण कार्यप्रति खेद व्यक्त गर्दछु।’ नेता राणाले राज्यले त्यसमा हौसला बढाउनुका साँटो अमूक राजनीतिक दलको प्रभावमा प्रशासन लगाएर पवित्र कार्यमा रोक लगाउनु कति न्यायोचित होला भन्दै राजनैतिक आस्थाका आधारमा गरिने विभेद बन्द गर्न स्थानीय प्रशासनलाई चेतावनी समेत दिएका छन्। काङ्ग्रेस नेता धनराज गुरुङले ललितपुर चापागाउँमा तरुण दल द्वारा संचालित फुड बैंकमा सरकारले रोकेपछि सामाजिक सञ्जालमा लेखेका छन्।
“भोका जनताका लागि सरकार आफैले त केहि गरेन तर अरुले गरेको मानवीय कार्यमा किन रोक लगाउने? फुडबैंक संचालन गरेबापत सरकारलाई कमिसन बुझाइन भनेर हो? हदै भयो भन्दै आपत्ति जनाएका छन्। सत्तारुढ दल नेकपाको दवावमा प्रशासनले फुड बैंकमा रोक लगाएको दावी कांग्रेसको छ। सत्तारुढ दलका एक जनप्रतिनिधिले त एक टेलिभिजन च्यानलका लागि दिएको अन्तर्वार्तामा घुमाउरो पारामा फुड बैंक सञ्चालनमा रोक लगाएको स्वीकारेका छन्।
बन्दाबन्दी, लकडाउन र निषेधाज्ञाको मारमा परेर खाद्यान्न अभाव भएका असक्त, गरीब, मजदुरहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको “हुनेले दिएर जाउँ नहुनेले लिएर जाउँ” अभियान स्थानीय प्रशासनले चापागाउँमा रोकेपनि ललितपुरका अन्य स्थानहरूमा निर्बाध सञ्चालनमा रहेको छ। गोदावरी नगरपालिका वडा नं १० चापागाउँ, टाहाखेलमा टाहाखेल टोल सुधार समिति अध्यक्ष दिल कुमार शाहीको नेतृत्वमा फुड बैंक संचालन आयो।
महालक्ष्मी नगरपालिका वडा नं ८ लुभुमा नेपाल तरुण दल ललितपुर क्षेत्र नं २ का अध्यक्ष एवं लुभु महालक्ष्मी युवा क्लबका अध्यक्ष नविन्द्र देव सिंहको अगुवाइमा फुड बैंक सञ्चालन गरि दैनिक १५० श्रमिक मजदुरहरूलाइ राहत वितरण गरिएको छ। त्यस्तै ललितपुर महानगरपालिका वडा नं २३ मा स्थानीय अभियान्ता कुमार बाँनियाको पहलमा धापाखेल मैत्री समूह र ठुलो पँधेरो टोल विकास संस्थाको संयुक्त आयोजनामा फुट बैंक सञ्चालन गरिएको छ । त्यस्तै गोदावरी नगरपालिका वडा नं १२ ठेचाेमा टु स्टार क्लवद्वारा फुड बैंक कार्यक्रम संचालनमा ल्याइएको छ।
चापागाउँमा सञ्चालित फुड बैंक मात्र रोक्नु यो कस्तो राजनीतिक विभेद हो ? आम जनमानसमा प्रश्न उब्जिएको छ। चापागाउँ बाहेकका स्थानमा हुनेले दिएर जाउँ नहुनेले लिएर जाउँको यो फुड बैंक अभिया ललितपुरमा मात्र नभएर देशभरी प्रभावकारी बन्दै छ। ललितपुरमा सञ्चालित यो अभियानलाई नेपाली कांग्रेसका युवा नेता मीन कृष्ण महर्जन, तरुण दलका केन्द्रीय अध्यक्ष जीत जंग बस्नेत, पुर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणा लगायतका काँग्रेस नेताहरुले साथ दिदै आएका छन्।
विपक्षी पाटीले केही राम्रो काम गर्न नपाउने कमाउनिष्टको सिद्धान्त हो