चिडियाखानालाई ललितपुर महानगरको १० लाख सहयोग

ललितपुर महानगरपालिकाले सदर चिडियाखानालाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार एक कार्यक्रमबीच चिडियाखानाका प्रमुख चिरंजिवी पोखरेललाई चेक हस्तान्तरण गरे ।

कोरोना महामारीका कारण आम्दानी नभएकाले जनावरलाई आहारा खुवाउनै हम्मे हम्मे परेको जानकारी पाएपछि सहयोग गरेको उनले बताए ।

सहयोग गर्नुको कारण प्रष्ट पार्दै उनले भने, ‘ कोरोना महामारीका कारण आम्दानी नभएपछि चिडियाखानाका धेरै कर्मचारीले आधा तलबमा काम गर्नु भएको रहेछ , जीवजन्तुको आहारा किन्नै धौ धौ परेको रहेछ ।’ चिडियाखानाको आम्दानी नभएका कारण जिवजन्तुको आहारा प्रभावित हुनु नहुने बताउँदै अपुग भए फेरि पनि सहयोग जुटाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रमुख महर्जनले आधा तलबमा जिवजन्तुको स्याहार , सुसार गर्ने कर्मचारीको समेत उनले प्रसंशा गरे ।

कार्यक्रममा चिडियाखानाका प्रमुख चिरंजिवी पोखरेलले अप्ठ्यारो परिस्थितिमा महानगरले सहयोग गरेकोमा धन्यवाद दिए ।

उनले भने ,‘चिडियाखानाले आर्थिक अभाव झेलिरहेको अवस्थामा कतैबाट सहयोग पाएका थिएनौं,ललितपुर महानगरपालिकाले अभिभावकको भूमिका निर्वाह गरेकामो खुशी छौं, धन्यवाद दिन चाहन्छौं ।’

नेपाल सरकारले कोरोना नियन्त्रणका लागि २५ जना भन्दा धेरै जमघट हुन नपाउने निर्णय गरेसँगै चिडियाखाना बन्द हुँदा आर्थिक अभाव झेल्नु परेको स्पष्ट पारे । चिडियाखानामा एक हजार जिवजन्तु छन् ।

चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाका अनुसार टिकटबाट उठेको रकमबाटै जिवजन्तुको आधार खरिद लगायत अन्य काम गरिन्छ ।

दैनिक ३० देखि ४० थरीका खानेकुरा तयार पार्नुपर्छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद कोइरालाको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button