चितवनको तमासाले भन्छ, हामीले एमालेबाट किन विद्रोह गर्‍यौं: माधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले एमालेबाट विद्रोह गर्नुको कारणबारे बुझ्न चितवनको कुम्भ मेला (महाधिवेशन) नै काफी भएको टिप्पणी गरेका छन्।

एमालेमा फरक मत राख्नेमाथि अत्याचार हुने गरेको नेपालको भनाइ छ। एमाले पार्टीभित्र फरक मत राख्नेहरुको अपमान भइरहेको उल्लेख गर्दै अध्यक्ष नेपालले एमालेमा जनताको बहुदलीय जनवादका गफ मात्रै हाँकिएको बताए।

कुनै पनि जनवादी अधिकारहरु प्रदान नगर्ने तथा विचारको बहसहरु सञ्चालन नगर्ने प्रवृत्तिले नै एमाले कम्युनिस्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन भन्ने प्रष्ट देखिएको नेपालले टिप्पणी गरे।

‘अहिले हामीले कम्युनिस्ट आन्दोलनमा बिद्रोह गरेका छौँ । नेकपा एमालेबाट बिद्रोह गर्‍यौं। किन बिद्रोह गर्‍यौं? त्यसको व्याख्या गरिरहनु पर्दैन, चितवनको तमासा नै पर्याप्त छ,’ नेपालले भने, ‘त्यहाँ फरक मत राख्ने व्यक्तिहरुमाथि जसरी अपमान भएको हामीले समाचार पाइराखेका छौं, त्यो नै पर्याप्त छ।’

नेपालले एमाले अब दक्षिणपन्थी बाटोतर्फ लागिसकेको उल्लेख गर्दै नेपालले अब एमाले कम्युनिस्ट क्रान्तिकारी दिशामा अगाडि बढ्न नसक्ने बताए।

‘जनताको बहुदलीय जनवादका गफ मात्रै हाँक्ने, कुनै पनि जनवादी अधिकारहरु प्रदान नगर्ने, त्यसबाट वञ्चित गर्ने, विचारको बहसहरु सञ्चालन नगर्ने, आदेशको पालन गर्ने, त्यो प्रवृत्तिले नै प्रष्ट पार्दछ कि अब त्यो नेकपा एमाले कम्युनिस्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन, त्यो अब अधोगतितर्फ गइसकेको छ, दक्षिणपन्थी बाटोतर्फ लागिसकेको छ,’ नेपालले भने।

नेपालले नेकपा एमालेलाई विदेशीको दलालीले मात्र प्रशंसा गर्न सक्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले महाधिवेशन उद्घाटनमा एमालेको उच्च प्रशंसा गर्नु स्वभनीय नभएको बताए।

अहिले वामपन्थी र लोकतान्त्रिक शक्तिहरु मिलेर ५ दलीय गठबन्धन सरकार बनाएको र मुलुक र संविधान मास्नेहरुबाट मुक्ति दिलाएको नेपालले दाबी गरे।नेता नेपालले देशलाई प्रगतिको दिशामा अघि बढाउनका लागि नेकपा एकीकृत समाजवादी लागि पर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button