चुनावको तयारीमा जुट्न कार्यकर्तालाई प्रचण्डको सर्कुलर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सबै पार्टी पङ्क्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सर्कुलरमार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र पार्टी सङ्गठनलाई क्रियाशील बनाउन निर्देशन दिएका हुन।
केन्द्रीय समितिको बैठक बसेर ठोस कार्ययोजना तयार नहुँदासम्मका लागि सर्कुलरका आधारमा पार्टीको गतिविधिलाई अगाडि बढाउन र स्थानीय तहको वडासम्म उम्मेदवारको रोष्टर तयार पार्न भनिएको छ। सर्कुलरमा जिल्ला समन्वय समिति, नगर, गाउँ वडालगायत सबै तहका पार्टी समिति र विधानले व्यवस्था गरेबमोजिम सबै तहका ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, परिषद् र विभागलाई पूर्णता दिन आग्रह गरिएको छ।
एक वडा न्यूनतम तीन टोल, एक टोल न्यूनतम एक सेल हुनुपर्ने पार्टीको निर्णयलाई लागू गर्दै सबै सङ्गठित सदस्यलाई पार्टी समिति, विभाग र निकायमा सङ्गठित गर्नुपर्नेछ। एक सङ्गठित सदस्य बराबर न्यूनतम दुई पार्टी सदस्य हुने गरी सदस्यता वितरणलाई व्यापक बनाउनुपर्नेछ।
वडामा सक्षम, इमान्दार र लोकप्रिय उम्मेदवारको रोष्टर तयार पार्नसमेत माओवादीले सबै वडा समितिलाई निर्देशन दिएको छ।