चैत मसान्तमा बैंकको ६० प्रतिशत व्याज उठेन

काठमाडौं । बैंकहरूको चैत मसान्तमा उठ्नु पर्ने व्याज करिब ४० प्रतिशत मात्रै उठेको छ । लकडाउनका कारण उत्पन्न असहज परिस्थिति र सरकारले दिएको सहुलियतका कारण चैत मसान्तमा उठ्नु पर्ने बैंकहरूको ६० प्रतिशतभन्दा माथि सावाँ नउठेको हो ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले चैत मसान्तको सावाँ र व्याज गरेर करिब ४० प्रतिशत उठेको बताए । उनले भने, “हिजो आइतबारसम्म प्राप्त तथ्याङ्कमा करिब ३० प्रतिशत मात्रै उठको थियो तर आज थप केही बैंकको तथ्याङ्क अउँदा करिब ४० प्रतिशत उठेको देखिएको छ ।”

अझै केही बैंकको तथ्याङ्क आउन बाँकी भएकाले यसमा थप घटबढ हुन सक्ने दाहालले बताए ।

चैत मसान्तमा वाणिज्य बैंकहरूको मात्रै कर्जा लगानी २८ खर्ब ३० अर्बभन्दा माथि पुगेको छ । त्यस आधारमा चैत मसान्तमा करिब ७५ अर्ब व्याज असुल हुनुपर्ने ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री बताउँछन् । तर, चैत मसान्तमा त्यसको ४० प्रतिशतको हाराहारीमा मात्रै असुल भएको छ ।

बैंकहरूले लगानी गर्ने कर्जामा विशेष गरेर दुई प्रकारको हुन्छ । चालु पुँजी कर्जा र र आवाधिक कर्जा । नेपाल राष्ट्र बैंकले कोराना भाइरस (कोभिड–१९) बाट प्रभावित व्यवसायीहरूका लागि राहत घोषणा गर्दै चालु पुँजी कर्जा चैत मसान्तमा भुक्तानी गर्न नसक्नेलाई २ महिना समय थप गर्न र त्यसमा कुनै पनि जरिवाना नलिन निर्देशन दिएको थियो ।

त्यस्तै आवधिक कर्जामा असार मसान्तसम्म भुक्तानी गर्दा जरिवाना नलगाउन र चैत मसान्तमा भुक्तानी गर्दा व्याजमा १० प्रतिशत छुट दिन भनेको थियो ।

बैंकर कुँवर सबैजसो बैंकको कुल कर्जा लगानीमा ३० देखि ४० प्रतिशत आवाधिक कर्जा र ६० देखि ७० प्रतिशत चालुपुँजी कर्जा रहेको बताउँछन् । चैत मसान्तमा असुल भएको कर्जामा ठूलो हिस्सा अवाधिक कर्जाको रहेको उनले बताए ।

उनले भने, “व्याजमा १० प्रतिशत छुट भनेको ठूलो रकम हो त्यसैले आवधिक कर्जाको अधिकांश असुली भएको छ तर चालुपुँजी कर्जा भने न्यून मात्रै असुली भएको छ ।”

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सबैलाई एउटै बाकसमा राखेर छुट दिँदा तिर्न सक्नेले पनि चैत मसान्तमा बुझाउनुपर्ने सावाँ र व्याज नबुझाएको बताएका थिए ।

कतिपय क्षेत्रको व्यापार व्यवसाय अहिले पनि चलिरहेको नियमित रोजगारी गरिरहेको भन्दै त्यस्तालाई छुट दिन आवश्यक नरहेको दाहलले बताउँदै आएका छन् । तर राष्ट्र बैंकले छुट दिन भनेकाले चालुपुँजी कर्जा चलाउनेले दुई महिना भए पनि थप चलाउन पाइन्छ भने किन अहिले तिर्ने भन्ने मानसिकता देखिएको उनले बताएका थिए ।

यता आवधिक कर्जामा भने व्याज छुट पाउने भएपछि सम्भव भएसम्म धेरैले चैत मसान्तको सावाँ व्याज भुक्तानी गरेको बैंकर्सको भनाइ छ ।

विकास बैंकमा पनि करिब २० देखि २५ प्रतिशत मात्रै व्याज असुल भएको कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत बताउँछन् । विकास बैंकको अधकांश कर्जा ग्रामीण विपन्न वर्गमा लगानी हुने र उनीहरूलाई बैंकसम्म जान पनि समस्या भएकाले पनि थौरै मात्रै असुली भएको उनको तर्क छ ।

यद्यपि क्षेत्रीय स्तरका विकास बैंकहरूको भने ५० प्रतिशतसम्म असुली भएको क्षेत्रीय विकास बैंकका प्रमुख कार्यकारीहरूले छलफलमा बताएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button