छुवाछुतको सम्बन्धमा पीडितलाई सम्झाउने कि पीडकलाई थर्काउने?

जगदीश पोखरेल,स्वतन्त्र लेखक । एकादेशमा एउटा परिवारमा बाबु, आमा र दुई जुम्ल्याहा छोरा बस्थे । जुम्ल्याहामध्ये एउटाले सधैंभरि झुक्याएर, छक्याएर वा भावनामा डुबाएर बाबुआमाबाट धेरै माया पाउँथ्यो । घरमा उपलब्ध दूध, दही जस्ता मीठा र पौष्टिक आहारहरूमा पहिलो अधिकार उसकै हुन्थ्यो । एक भाइले यति धेरै माया पाउने परिवारमा अर्को भाइलाई भने ठूलो अभाव र अपमानमा हुर्काइएको थियो । यो भेदभाव हुनुमा जानेर वा नजानेर बाबुआमाकै प्रमुख हात थियो ।

एक भाइसँग हुँदै नभएको प्रतिभालाई जबर्जस्ती उचालेर महान बनाइन्थ्यो भने अर्को भाइसँग भएको प्रतिभालाई पनि सकेसम्म दबाइन्थ्यो । यति मात्रै नभएर धेरै अवसर पाएको भाइले अर्को भाइलाई निरन्तर रूपमा अपमान गर्दै आएको थियो । उसले पटक पटक बाबुआमाकै सामुन्नेमा भाइलाई कुट्दै आएको थियो ।

धेरै अवसर पाएको भाइले जति कुट्दा पनि बाबुआमा चुप रहन्थे । पिटाइ खाने भाइले छुटकाराको निम्ति चित्कार गर्दा बाबुआमाले उल्टै उसलाई भन्थे, “तँ धेरै हल्ला नगर्, यति पिटाइ खाँदैमा तँ मर्दैनस् । कुटाई खाए पनि तैंले आफैलाई बलियो बनाउनुपर्छ, कसैले आएर कुट्यो भने पनि नदुखे झैं गर्नुपर्छ । कुट्नेहरूलाई कुट्न दिनुपर्छ ।”

कुटाई खाने भाइलाई यति भन्न सक्ने बाबुआमाले कुट्ने भाइलाई एकपटक पनि “तिमीहरू दुवैजना हाम्रो लागि बराबर हौ, तैंले उसलाई कुट्दा हामीलाई पनि दुख्छ, अब उप्रान्त कुटिस् भने तँ हाम्रो छोरा रहने छैनस्” भन्न सक्दैनथे ।

यो कथाका बाबुआमा हाम्रो समाज हो । धेरै अवसर पाउने भाइ कथित उच्च समुदाय हो भने अर्को भाइ छुन नहुने भनी सदियौंदेखि हेपिएको समुदाय हो ।

(माथिको कथामा कसलाई के के भनी चित्रण गरिएको छ भन्ने कुरा थाहा भइसकेपछि एकपटक कथा फेरि पढ्नुहोला, यसरी कथाले भन्न खोजेको कुरा बुझ्न तपाईंलाई सहज हुनेछ ।)

एउटा समुदाय जसलाई सयौं वर्षदेखि हेपिएको छ, पेलिएको छ, राम्रा भनिएका कुराहरूबाट वञ्चित गरिएको छ, मनोवैज्ञानिक रूपमा नै कमजोर बनाइएको छ । के यी तमाम सामाजिक अपराधका पीडितहरूलाई यो समाजले क्षतिपूर्ति दिनु पर्दैन र? सदियौंदेखि हेपिएको समुदायलाई अहिले राज्यले दिएको आरक्षण कोटालाई त्यही क्षतिपूर्तिको सानो अंशको रूपमा लिनुपर्छ । यस्तो आरक्षणमा कसैले पनि सानो चित्त गर्नु हुँदैन ।

हो, आजको दिनसम्म आइपुग्दा साे समुदायका धेरै मानिसहरूले आफूलाई अरूहरू जस्तै अझ कतिपटक अरूहरू भन्दा धेरै अब्बल सावित गरिसकेका छन् । त्यो सफलता अर्को समुदायको दयाको कारण प्राप्त भएको होइन, उनीहरूकै निरन्तर लगन, मेहनत र परिश्रमको फल हो । केही अंश राज्यले तिरेको क्षतिपूर्तिको प्रतिफल पनि हो ।

म हेपिएर बाँच्छु भन्ने इच्छा कसैको पनि हुँदैन । हामीकहाँ त्यस्ता लाखौं घरबेटीहरू छन्, जसको खाली कोठा पनि कोठा खोज्न आउनेको जात थाहा भएपछि एकैपटकमा आफैलाई आवश्यक पर्न थाल्छ । पढेलेखेका र बुद्धिमान मानिसहरू पनि एकापसमा छलफल गर्दा त्यो समुदायलाई होच्याएर बोल्न पछि पर्दैनन् । यो अवस्थामा समाजले हेपिएकाहरूलाई सम्झाउने होइन, हेप्नेहरूलाई थर्काउनुपर्छ । दलितले किन आफैलाई कमजोर सम्झेको ? भनेर प्रश्न गर्नुअघि अरूहरूले किन आफुसरहका मानिसहरूलाई हेपेको भनेर थर्काउनु आजको समाजको मुख्य जिम्मेवारी हो ।

यदि पीडकलाई कराउन छोडेर हामी पीडितलाई अह्राउन थाल्छौं भने सबैभन्दा ठूलो भेदभाव हामीले गर्छौं । समाजको सबैभन्दा ठूलो धमिरा हामी आफै हुन्छौं ।

अति आधुनिक भनिएको समाजले यदाकदा समानताको नारा लगाएको देखिए पनि न्यायको नारा अझै लगाउन सकेको छैन । स्वतन्त्र लेखक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button