जनता र देशलाई भुलेर एमालेले गलत बाटोमा हिँडेपछि त्यानुपरेको हो : अध्यक्ष नेपाल

धनुषा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमालेलाई त्याग्नुपरेको बताएका छन् ।
धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा मंगलबार आयोजित सभामा अध्यक्ष नेपालले भने, “नेकपा एमाले विदेशीको दलालीमा लाग्यो । त्यसैले पुरानो घर त्यानुपरेको हो ।” अध्यक्ष नेपालले अहिले सत्य र न्यायका लागि नयाँ पार्टी गठन गरी अगाडि बढेको बताउँदै भने, “न्याय र सत्यको जित अवश्य हुनेछ ।”
अध्यक्ष नेपालले मुलुकमा सङ्घीयता, लोकतन्त्र तथा समावेशीताको रक्षा गर्दै जनताको अधिकार स्थापित गराउनका लागि वर्तमान गठबन्धनको सरकार बनेको जिकिर गरे । गठबन्धन आउँदो चुनावसम्मै कायम रहने पनि नेपालले बताए ।
सो अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री रामचन्द्र झा औपचारिकरूपमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरे । समाजवादीले झालाई यसअघि नै पार्टी सचिवालय सदस्यमा मनोनीत गरिसकेको थियो । पार्टीले कात्तिक २८ गते नै झालाई समाजवादीले सचिवालय सदस्यमा मनोनीत गरिसकेको थियो ।
झासहित दुई हजारभन्दा बढी कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको दाबी गरिएको छ । झालाई समाजवादीका अध्यक्ष नेपालले फूल माला लगाएर पार्टीमा स्वागत गरे ।
यस्तै जनकपुरधाम उपमहानगरपालिका क्षेत्रबाट वरिष्ठ दन्त चिकित्सक डा अजयकुमार झाको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरेर करिब ५०० समाजवादीमा प्रवेश गरेको पनि पार्टीले दाबी गरेको छ । डा. झा नेविसङ्घ धनुषाका जिल्ला अध्यक्षसमेत भइसकेका छन् ।