‘जनता विरोधी ओलीका गतिविधिले पार्टी एकतालाई कुनै तात्विक असर पर्ने छैन,’- प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्लो गतिविधिले पार्टी एकतालाई कुनै तात्विक असर नपार्ने बताएका छन् ।
सोमबार एक वक्तव्य जारी गर्दै प्रचण्डले पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमका लागि उनलाई अनुशासनको कारबाहीका लागि स्पष्टीकरण सोधिएको पनि बताएका छन् ।
प्रनिधिभि सभा विघटन गर्ने कार्य असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदम भएको उल्लेख गर्दै प्रचण्डले आइतबार बसेको स्थायी कमिटी बैठकले त्यसको भर्त्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टीकरण मागेको विषय जनाएका छन् ।

‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन,’ प्रचण्डले सोमबार वक्तव्य जारी गर्दै भनेका छन्, ‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो ।’

नेकपा अध्यक्ष प्रचण्डले ‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन’ पनि सबैमा आग्रह गरेका छन् ।

 ‘कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु,’ प्रचण्डले वक्तव्यमा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button