जनयुद्धमा जेल ब्रेक गरेकी उमा भुजेलले प्रहरीलाई फेरि चक्मा दिइन्

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपाका झापा जिल्ला इन्चार्ज सुमनसिंह पौडल र नेतृ उमा भुजेल ‘शिलु’ आज सप्तरीबाट रिहा भएलगत्तै साँझ फरार भएका छन्।
सर्वोच्च अदालतले उनीहरुलाई रिहा गर्न आजै जिल्ला अदालत सप्तरी र प्रहरीका नाममा आदेश दिएको थियो।
सर्वोच्चको आदेशसँगै सप्तरी जिल्ला अदालतले साँझ सप्तरी जिल्ला बार एशोसिएशनको रोहवरमा उनीहरुलाई रिहा गरेको थियो।
अदालतले रिहा गरेपनि नेपाल प्रहरीले माथिको आदेशमा नेतृ भुजेललाई फेरि पक्राउ गर्ने र अन्य जिल्ला घुमाउने योजना बनाएको थियो। तर, नेतृ भुजलले गेटमा उभिएका सबै प्रहरीलाई चक्मा दिइन्। अदालतको मुल गेटमा प्रहरी उभिरहँदा नेतृ भुजेल भने अदालत भवनको पछाडिको ढोका हुँदै साँझ ६ बजेतिर फरार भइन्।
बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्चले आज अपराह्न ५ बजे रिहा गर्ने आदेश गरेबमोजिम उनीहरुलाई आज साँझ रिहा भएपनि फरार भएको र अहिले प्रहरीले चारैतिर खोजिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन्।
इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भुजेल र पौडेलमाथि सप्तरीको भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोप लगाउँदै यही भदौ ४ गते मुद्दा चलाएको थियो।
जिल्ला अदालत सुनसरीले भदौ २ गते पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेलगत्तै उनीहरु पक्राउ थिए।
गत वर्षको २० पुसमा सुनसरीबाट पक्राउ परेकी भुजेल त्यसपछि विभिन्न अदालतले छाड्न आदेश दिएपनि प्रहरीले पक्राउ गर्दै आएको थियो।
सुनसरी, झापा, धनुषा अदालतमा विभिन्न मुद्दा रहेको भन्दै त्यहाँ पुर्याइए पनि अदालतहरूले धरौटीमा छाड्न आदेश दिएका थिए। तर, प्रहरीले अदालतको आदेशलाई लात हान्दै गेटबाटै पक्राउ गर्दै आएको थियो।
आइतबार भने प्रहरीको त्यो योजना विफल भएको छ। र उनी रिहा हुन सफल भएकी छन्।
तत्कालिन नेकपा माओवादीको केन्द्रीय सदस्य भइसकेकी भुजेल पक्राउ अघि विप्लव समूहको मेची–कोशी ब्यूरो प्रमुख तथा पोलिटव्यूरो सदस्यको जिम्मेवारीमा थिइन्।
द्वन्द्वकालमा उनले गोरखाको जेल ब्रेक गरेर भाग्न सफल भएपछि माओवादीभित्र उनको अहिलेपनि विशेष चर्चा हुने गर्छ।
१० वर्षे सशस्त्र विद्रोहका बेला २०५७ सालको चैत १७ गते भुजेलको नेतृत्वमा छ जना महिलाहरुले गोरखा जेल ब्रेक गरेर फरार भएका थिए।
भुजेल पूर्वसभासद् पनि हुन्।