जुम बैठक र औपचारिकतामा मात्र सीमित हुने यस वर्षको वीपी जयन्ती

काठमाडौँ – यस वर्षको वीपी जयन्ती जुम बैठक र औपचारिकतामा मात्र सीमित हुने भएको छ।
कोरोना महामारीका कारण धेरै व्यक्ति एकै ठाउँमा जम्मा हुन नसक्ने अवस्थाका कारण कांग्रेसले आफ्ना संस्थापक नेता वीपी कोइरालाको १०७ औं जन्म जयन्ती जुम मिटिङबाटै मनाउने भएको हो।
कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार वीपीको जन्म जयन्तीको अवसरमा राहत वितरण गर्नसमेत मातहतका निकायलाई भनिएको छ।
१९७१ साल भदौ २४ गते जन्मिएका वीपीको प्रत्येक वर्ष कांग्रेसले जन्म जयन्ती मनाउँदै आएको छ। कोरोना प्रतिकुलताबाट सुरक्षीत रहँदै स्थानीय परिस्थिति हेरि अनिवार्य रुपले भौतिक दूरी र अनिवार्य मास्क प्रयोग गरेर अथवा भर्चुअल रूपमा कार्यक्रम गर्न सूचित गरिएको छ।
राहत वितरण, मास्क वितरण, सचेतना कार्यक्रम समेत यो अवसरमा समाविष्ट रहनेछन्”, पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
केन्द्रीय तहबाट कांग्रेसले यस वर्ष तीनवटा जुम बैठकमार्फत वीपी जयन्त मनाउने तयारी गरेको छ। मुख्य सचिव पौडेलका अनुसार भदौ २४ गते दिउँसो १ बजे ‘वीपीको विचार नेपालको समुन्नतिको मुल बाटो’ विषयमा विचार गोष्ठी आयोजना हुनेछ।
बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंहलगायतका नेता सहभागी हुनेछन्।
त्यस्तै भदौ २५ गते दिउँसो १ बजे ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा वीपीको योगदान’ विषयमा जुम बैठकमार्फत छलफल हुनेछ। २६ गते ‘विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति’ विषयमा छलफल हुने पौडेलले जानकारी दिए।