जोखिमपूर्ण जीर्ण र अग्लो पर्खाल भत्काएर पारदर्शी वार, पुल्चोक क्याम्पसको उद्घाटन

ललितपुर । ललितपुर महानगरपालिकाले सहरको तीन ठाउँमा जीर्ण र अग्लो पर्खाल भत्काई पारदर्शी हरियो वार लगाएको छ । ती मध्ये नेपाल इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको पश्चिम तर्फ (मूल सडकपट्टि ) लगाइएको वारको बुधबार महानगरका प्रमुख चिरीबाबु महर्जन र क्याम्पस प्रमुख प्रा.डा. लक्ष्मण पौडेलले संयुक्त रुपमा उद्घाटन गरे ।

आर्थिक वर्ष २०७५/२०७६ को नगर गौरवको आयोजना अन्तर्गत पुल्चोक क्याम्पस हातामा उक्त वार लगाइएको हो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले क्याम्पस परिसरमा रहेको कलात्मक राणाकालिन पुरानो आनन्द निकेतन दरबार र हरियालीयुक्त बगैंचाको सुन्दरता सबैलाई देखाउन यस्तो वार लगाएको बताए ।

उनले भने, ‘ अग्लो र जीर्ण भवनले सहरको सुन्दरतामा आँच पुगेको थियो, भूकम्पको दृष्टिले समेत यी पर्खाल जोखिमपूर्ण थिए ।’ पुल्चोक क्याम्पसको यो योजना सम्पन्न गर्नको लागि मुल्यअभिवृद्धि कर सहित ५५लाख २ सय १६ रुपैयाँ लागेको छ ।

बोलपत्र आव्हान गरि सम्पन्न गरिएको यो आयोजना जे.एस.एस. इन्जिनियरिङ,ज्ञानेश्वर,काठमाडौंले सम्पन्न गरेको हो । उद्घाटन कार्यक्रममा क्याम्पस प्रमुख प्रा. डा. पौडेलले सहरलाई सुन्दर बनाउन अघि सारेको योजनाको प्रसंशा गरे । उनले क्याम्पस परिसरमा रहेको बगैंचालाई अझै व्यवस्थित बनाउने बताए ।

निवर्तमान क्याम्पस प्रमुख प्रा.डा. गोकर्ण बहादुर मोत्राले महानगरले सहरलाई सुन्दर बनाउन लगाएको पारदर्शी वारले क्याम्पस परिसरको हरियाली, बगैंचा र दरबार सबैले हेर्न सक्ने भएको स्पष्ट पारे ।

महानगरपालिकाभित्र अन्य दुई ठाउँ सदर चिडियाखाना अगाडिको फुटबल मैदान वरिपरि र महालक्ष्मीस्थान नजिकै रहेको राजदल गणसँगैको खेल मैदान वरिपरि समेत यो बार लगाएको महानगर प्रमुख महर्जनले जानकार दिए ।

उनले, भने, ‘ काम सम्पन्न भइसकेको छ, त्यहाँ बार देखाउन हामी तपाईहरुलाई छिट्टै बोलाउँछौं । ’हरियाली स्मार्ट सहरको महत्वपूर्ण तत्व भएको जानकारी दिदैं हरियाली कायम गर्न महानगरले थुप्रै योजनाहरु अघि बढाएको स्पष्ट पारे ।

अग्ला र जीर्ण भइसकेका पर्खालले एकातिर सहरको सुन्दरमा ह्रास ल्याएको थियो भने, अर्कोतर्फ खेल मैदानमा भएको खेल र पुल्चोक क्याम्पस परिसरमा रहेको हरियाली सहितको पुरानो दरबार देख्न र हेर्न इच्छुकहरु विमुख भएका थिए । त्यसैगरी वार लगाउनु अघिका जीर्ण पर्खाल भूकम्पका दृष्टिले समेत जोखिमपूर्ण थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button