ज्येष्ठ नागरिक अग्रज मात्रै नभई प्रेरणाका स्रोत हुन् : प्रधानमन्त्री

काठमाडौं– ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ छ।

ज्येष्ठ नागरिक दिवसको अवसरमा आइतबार एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले जीवनको उत्तरार्धमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै पालनपोषण र संरक्षणको उचित व्यवस्थापन गर्नु हामी सबैको कर्तव्य भएको बताएका छन्। ‘ज्येष्ठ नागरिकको मानवअधिकार संरक्षण, आर्थिक र सामाजिक सुरक्षा तथा उनीहरुका लागि सम्मानित र सुरक्षित जीवनयापन गर्नु अनुकूल वातावरणको सिर्जना गर्नुपर्ने दायित्व सरकारको मात्र नभई परिवार र समाज सबैको हो,’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।

उपलब्ध स्रोत तथा साधनको अधिकतम सदुपयोग गरी ज्येष्ठ नागरिकलाई सुखी, सम्मानित एवं सुरक्षित तुल्याउन थप सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकोसमेत उनले बताएका छन्। ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ यसवर्ष विविध कार्यक्रमसहित ज्येष्ठ नागरिक दिवस मनाइँदै छ।

‘सरकारले हरेक वर्षको पुस ११ गतेलाई ज्येष्ठ नागरिक दिवसको रुपमा मनाउने निर्णय गरेको छ । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button