ज्येष्ठ नागरिक, अशक्त एवं अपाङ्ग सम्मान तथा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

डिलकुमारी नेपाल, चितवन । आनन्द बिश्राम चौतारीको आयोजनामा न्यानो कपडा वितरण तथा निःशुल्क स्वास्थ्य परिक्षण भएको छ ।
आनन्द बिश्राम चौतारी माडी नगरपालिका ६ कल्याणपुरको आयोजनामा शनिवार ज्येष्ठ नागरिक, अशक्त एवं अपाङ्ग सम्मान तथा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा नगर उपप्रमुख ताराकुमारी काजी महतो विशिष्ट अतिथि रहनु भएको थियो । त्यस्तै कार्यक्रममा माडी नगरपालिका ६ का वडाध्यक्ष भरत बहादुर गुरुङ, माडी नगरपालिका ४ कि वडा सदस्य इन्दिरा बिश्वकर्मा लगायतका अतिथि रहेको थिए ।
सोहि अवसरमा ३३ जना वृद्धवृद्धाहरुलाई न्यानो कपडा प्रदान गरी सम्मानित गरिएको चौतारीका सचिव भोजराज खनालले बताए । त्यसैगरी जग्गादाताहरु जग्गनाथ अधिकारी र रमादेवी पौडेललाई समेत उक्त कार्यक्रमकाबीच सम्मानित गरेका थिए ।
कार्यक्रममा बिश्वास फार्मेसीका संचालक स्वास्थ्यकर्मी गोबिन्द नेपालले ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरेका हुन् । ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्यकर्मी नेपाल तथा माडी औषधी व्यवसायी संघबाट सहयोग स्वरुप प्राप्त भएको औषधि निःशुल्क वितरण गरिएको थियो ।
कार्यक्रम संचालनका लागि बद्री प्रसाद रेग्मीले नगद १० हजार, दिनानाथ पौडेलले नगद ७ हजार ५ सय तथा शिव अधिकारी र चाँदनी ब्याग उद्योगले समान र नगद ३ हजार आर्थिक सहयोग गर्नुभएको सचिव खनालले जानकारी दिनुभयो ।