टेलिकमको सबै मोबाइल नम्बरमा कल गर्दा कोरोनाबाट बच्ने उपाय सुन्न सकिने

काठमाडौं । नेपाल टेलिकमले आफ्नो जीएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने रिङ व्याक टोनलाई परिवर्तन गरेको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) बाट सिर्जना भएको विषम परिस्थिमा कम्पनीले यस्तो व्यवस्था गरेको हो । हाल नोबेल कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिइरहेको र नेपाल पनि उक्त भाइरस संक्रमणको उच्च जोखिममा रहेको छ । यस्तो अवस्थामा यसबाट हुनसक्ने सम्भावित संक्रमण तथा बच्ने उपायका बारेमा जनचेतना फैलाउन कम्पनीले आजबाट आफ्नो जीएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने रिङ व्याक टोनलाई परिवर्तन गरेको हो । सो अनुसार स्वदेश वा विदेशका जुनसुकै नम्बरबाट नेपाल टेलिकमको जीएसएम मोबाइल नम्बरमा कल गर्दा ग्राहकले कल नउठाउँदासम्म कल गर्ने व्यक्तिले कोरोना भाइरसबाट हुने संक्रमणका लक्षण, भाइरसबाट बच्ने उपाय आदि जानकारी निःशुल्क रुपमा सुन्न सक्नेछन् ।
यसैगरी कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारको निर्देशन समेतको आधारमा सार्वजनिक सक्रियता तथा गतिविधि नियन्त्रित गर्नुपर्ने भएकाले नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा रिचार्जका लागि यथासम्भव विद्युतीय माध्यमको प्रयोग गर्न कम्पनीले ग्राहकवर्गमा आह्वान गरेको छ ।
कम्पनीका सेवाको महसुल भुक्तानी गर्न टेलिकमका ग्राहक सेवा केन्द्रहरु खुल्ला रहने भए तापनि वैकल्पिक उपायहरु उपयोग गरी घरमै बसी सहज रुपमा महशुल भुक्तानी गर्न ग्राहकवर्गमा अनुरोध गरेको हो । भुक्तानीका वैकल्पिक उपाय रिचार्ज कार्ड, इलेक्ट्रोनिक भुक्तानी, कम्पनीको वेबसाइट तथा मोबाइल एप्लिकेसन, ई–बैंकिङ, ई–कमर्स तथा मोबाइल बंैकिङ र कुनैपनि बैंकको भिसा तथा मास्टर कार्ड छन् ।