डा. केसीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । विगत १३ दिनदेखि अनसनरत डा.गोविन्द केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। कोरोना संक्रमणको आशंकामा बिहिबार डा.केसीको स्वाब संकलन गरि पिसिआर परिक्षण गरिएको थियो।

शनिवार साँझ आएको नतिजामा रिपोर्ट नेगेटिभ देखिएको हो। यो सँगै डा.केसी संक्रमणमुक्त रहेको स्पष्ट भएको छ। १३ दिनअघि जुम्लाबाट अनसन सुरु गरेका डा.केसी प्रहरीको धरपकड बढेपछि काठमाडौं आउँन बाध्य भएका थिए।

काठमाडौं आएका डा.केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टरमा लगेको थियो। त्यहाँ लाने क्रममा प्रहरीले उनमा संक्रमण भएको दाबी गरेको थियो।

प्रहरीले तान्दै गर्दा केसीले आफूलाई जबरजस्ती नगर्न आग्रह गरेका थिए। तर, प्रहरीले उनलाई कोरोना संक्रमणका कारण लान खोजेको दाबी गरेको थियो। केसीले आफू चिकित्सक भएकाले संक्रमणबारे जानकार भएको बताएका थिए।

राष्ट्रिय ट्रमा सेन्टरमा लगिएपनि डा.केसी स्वेच्छिक डिस्चार्ज लिएर शिक्षण अस्पताल गएका थिए। अहिले शिक्षण अस्पतालमै अनसनरत छन्। डा.केसीको समर्थनमा युवाहरूले देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको छ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका केसीबारे सरकारले भने कुनै ध्यान दिएको छैन। केसीको स्वास्थ्य कमजोर बन्दै गएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button