डा. केसीलाई सरकारले अपहरणको शैलीमा ट्रमा सेन्टरमा ल्याएको उनका सहयोगीको आरोप

जबरजस्ती ट्रमा सेन्टर लगिएपछि डा केसीले भने– ओलीको गुण्डागर्दी मुर्दावाद

काठमाडौं । चिकित्सा शिक्षा सुधारको मागसहित अनसनकै क्रममा मंगलबार काठमाडौं आइपुगेका डा गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

नेपालगञ्जबाट ११ः१५ बजेको फ्लाइटमा त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका केसीलाई प्रहरीले एम्बुलेन्समा राखेर ट्रमा सेन्टर लगेको हो ।

वीर अस्पतालको सबै सेवाहरु हाल ट्रमा सेन्टरबाटै प्रदान हुँदै आएका छन् ।

यसअघि केसी काठमाडौंमा अनसन बस्दा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा बस्ने गरेका थिए ।

केसीलाई सरकारले अपहरणको शैलीमा ट्रमा सेन्टरमा लिएको उनका सहयोगी आरोप लगाएका छन्। आफूहरु त्रिभुवन विमानस्थलमा पर्खिरहेको भए पनि उनलाई प्रहरीले सीधै ट्रमा सेन्टर लगेको उनीहरुको आरोप छ ।

ट्रमा सेन्टर पुर्‍याइएपछि केसीलाई प्रहरीले एम्बुलेन्सभित्रै गएर निकालेको थियो। प्रहरीले तान्दै गर्दा केसीले आफूलाई जबरजस्ती नगर्न आग्रह गरेका थिए। ‘म जान्न भनेको। यो प्रहरीको गुण्डागर्दी हो। तिमीले भन्नु पर्दैन। म टिचिङ हस्पिटलको होइन मलाई थाहा छैन्, ओलीको गुण्डागर्दी मुर्दावाद,’ उनले भने।

त्रिवि शिक्षण अस्पतालको वरिष्ठ हाडजोर्नी विशेषज्ञ रहेका केसीले गत वर्ष अवकास लिएका थिए । पछिल्लो समय केसीले जुम्लाबाट आफ्नो १९ औं अनसन शुरु गरेका थिए ।

केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमबीबीएस अध्यापन शुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, इलाम, डडेल्धुरा लगायत जिल्लामा पनि मेडिकल कलेज सञ्चालन गर्नुपर्ने लगायत माग राखेर केसीले भदौ २९ गतेदेखि जुम्लामा अनसन शुरु गरेका थिए ।

जुम्लामा धरपकड हुन सक्ने भन्दै केसी आइतबार त्यहाँबाट काठमाडौंतर्फ आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button