नजिकमा पुल नहुँदा दैनिक तुइनकै सहारामा वर्षौँदेखि वारपार

जाजरकोट । पश्चिम जाजरकोटको शिवालय गाउँपालिकाबाट छेडागाड नदी तरेर छेडागाड नगरपालिकाको कार्कीगाउँ जान शिवालय गाउँपालिका–१ सालतडा र शिवालय गाउँपालिका–९ बालुवामा वर्षौँदेखि तुइनको सहारामा वारपार हुँदै आएको छ । दैनिक त्यही तुइनको सहाराबाट स्थानीय वारपार गर्छन् ।

जाजरकोटको शिवालय गाउँपालिका–१ का कालीबहादुर पुनले नदी तरेर पारीपट्टि जानु परे तुइनकै सहारा लिनुपर्ने बाध्यता रहेको सुनाए । नजिकमा पुल नहुँदा छेडागाड तर्न तुइनकै सहारा लिनुपरेको उनको भनाइ छ ।

झोलुङ्गे पुलको लागि पटक–पटक माग गरे पनि सुनुवाइ हुन नसक्दा जोखिम मोलेरै तुइनबाट वारपार गर्नुपरेको उनले गुनासो गरे । शिवालय गाउँपालिका–१ सालतडा र छेडागाड नगरपालिका १२ कार्कीगाउँ जोड्ने छेडागाड खोलो तर्न स्थानीयवासीले वर्षौँदेखि तुइनको सहारा लिने गरेका छन् । तुइन नहुँदा स्थानीयलाई छेडागाड तर्न निकै सकस हुन्थ्यो ।

वर्षात्को समयमा पाँच घण्टा टाढा मोर्क गएर झोलुङ्गे पुल तर्ने गथ्र्यौँ छेडागाड नगरपालिका १२ कार्कीगाउँका रामबहादुर खत्रीले भने, ‘चिन्डा, डुङ्गा लगायत साधनबाट यात्रा गर्दा धेरैले अकालमा ज्यान गुमाए, २५ वर्षअघि तुइन बनेपछि जोखिम भए पनि केही सहज त भएको तर, महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई तुइन तर्न निकै सकस हुन्छ ।’

तुइन तरेरै जिन्दगी बित्न थालेको स्थानीयवासीको भनाइ छ । पुल बनाइदिन विभिन्न निकायसँग आग्रह गर्दा पनि कसैले नसुनेको उनीहरुको गुनासो छ । पुल भएको स्थानसम्म पुग्न डेढ घण्टा समय लाग्छ । त्यो पनि जोखिमपूर्ण भिरको बाटो छ । उक्त अप्ठेरो बाटोबाट लडेर कतिको ज्यानसमेत गइसकेको छ । अप्ठेरो बाटोबाट लडेर ज्यान गुमाउनुभन्दा जोखिमपूर्ण तुइनकै सहायता लिनु जाति भएको स्थानीयवासी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button