त्रिभुवन विश्वविद्यालयले क्याम्पस र विभागहरूलाई दियो यस्तो निर्देशन [सूचनासहित]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले माघ ११ गतेदेखि सबै क्याम्पस तथा विभागलाई अनलाइनको माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
यसको लागि त्रिविले विभागीय प्रमुखको संयोजकत्वमा ५ सदस्यीय र क्याम्पसहरूमा सहायक क्याम्पस प्रमुखेको संयोजकत्वमा ७ सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्न निर्देशनै दिएको हो ।
देशभर कोरोना भाइरस संक्रमण तीव्र फैलिएपछि त्रिविले सम्पूर्ण क्याम्पस तथा विभागको भौतिक पठनपाठन सँगसँगै परीक्षासँगै स्थगित गरेको छ ।
त्रिविले आइतबार सूचना जारी गर्दै सबै क्याम्पस तथा विभागलाई अनलाइन कक्षाको रूटिन बनाई माघ १० गतेभित्र डीनको कार्यालयमा पठाउनसमेत भनेको छ ।
उसले भौतिक उपस्थितिमा हुनुपर्ने प्रयोगात्मक कक्षाहरू, अभ्यास शिक्षण, इन्टरर्नसीप आदिका सम्बन्धमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई भौतिक उपस्थितिमै सञ्चालन गर्न भनेको छ । ‘स्थानीय निकायसँग समन्वय गरी भौतिक कक्षा लिन सकिने अवस्था भएमा भौतिक कक्षा लिन सकिने’, त्रिविले जारी गरेको सूचनामा भनिएको छ ।
उसले प्रत्येक अध्ययन संस्थान र संकायले सहायक डीनको संयोजकत्वमा ९ सदस्यीय अनलाइन कक्षा अनुगमन समितिसमेत गठन गर्न निर्देशन दिएको छ । समितिले अनलाइन कक्षा सञ्चालन गर्न सहयोग गर्न तथा सबै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसका अनलाइन कक्षाको अनुगमन गर्ने सूचनामा उल्लेख गरिएको छ ।
सूचना हेर्नुहाेस् :