दलको लेखापरीक्षणमा शंका : विशेषज्ञ खटाइदिन महालेखालाई आयोगको पत्राचार

काठमाडौं । राजनीतिक दलको लेखापरीक्षण जाँचबुझ गर्न निर्वाचन आयोगले महालेखा परीक्षकको कार्यालयलाई विशेषज्ञ कर्मचारी पठाइदिन पत्राचार गरेको छ।

राजनीतिक दलले बुझाएको आयव्ययको विवरणसहितको लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि आयोगले विशेष कर्मचारीबाट लेखापरीक्षण गराउने निर्णय गरेको थियो।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले महालेखा परीक्षकको कार्यालयलाई पाँच जना विशेषज्ञ कर्मचारी पठाइदिन अनुरोधसहित पत्राचार गरेको छ। आयोगले विशेषज्ञ कर्मचारीको तह नै किटान गरेको छ।

महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले आयोग पदाधिकारीको बैठकको निर्णयबमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका एक, राजपत्राङ्कित तृतीय श्रेणीका दुई र राजपत्र अनङ्कित प्रथम श्रेणीका दुई गरी पाँच जना माग गरिएको जानकारी दिए ।

आयोगले पठाएको पत्रमार्फत आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन आयोगमा पेस गर्ने दलहरूको लेखापरीक्षण प्रतिवेदन, लेखासम्बन्धी कागजातलगायतका विवरण जाँचबुझ गर्ने कार्यका लागि कर्मचारी खटाई पठाइदिन अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button