देशभरका अस्पतालमा डाक्टरको आन्दोलन, बिरामीहरु उपचार पाउनबाट बञ्चित

काठमाडौं– मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत २ जना चिकित्सकमाथि आक्रमण भएको घटनाको विरोधमा देशभरका चिकित्सकहरु आन्दोलिन भएका छन्।
नेपाल चिकित्सक संघको आह्वानमा डाक्टरहरु आन्दोलित बन्दा बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बञ्चित भएका छन्। देशभरका अधिकांश अस्पतालले आइतबार बिहानदेखि बहिरिङ्ग (ओपीडी)को टिकट वितरण गरेका छैनन्।
नेपाल चिकित्स संघले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि आइतबारबाट देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भनेको थियो। संघको आह्वानअनुसार आइतबार देशभरका अधिकांश अस्पतालहरुमा ओपीडी सेवा बन्द गरिएको छ।
सन्चो अस्पतालका २ जना चिकित्सकहरु डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाही नगरिएको भन्दै संघले देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।
संघले देशभरका स्वास्थ्य संस्थाहरुमा अनिवार्य रुपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अबिलम्ब मिलाउनु पर्ने माग पनि राखेको छ।
संघको आह्वानमा अस्पताल बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन्। देशका विभिन्न ठाउँबाट उपचारका लागि भन्दै संघीय राजधानी काठमाडौं आएका बिरामी अलपत्र परेका छन्। फलोअपमा रहेका र ओपीडीमा जाँच गराउने गरी आएका बिरामी पनि अस्पताल बन्द हुँदा मर्कामा परेका छन्।
डेंगुको लक्षण देखिएर सन्चो अस्पतालमा भर्न भएका बिरामीको भदौ २५ गते मृत्यु भएको थियो। अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु विरोधमा उत्रिएका थिए। क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले चिकित्सकद्वय थापा र विडारीमाथि हातपात गरेका थिए।
चिकित्सकमाथि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।