धार्मिक सद्भाव खल्बलिन लागेको माओवादी केन्द्रको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टीको पदाधिकारी बैठकले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै सचेत हुनुपर्ने निष्कर्ष निकालेको हो ।
पार्टी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले देशका विभिन्न भागमा देखा परेको धार्मिक तथा साम्प्रदायिकता खल्बल्लिने गतिविधिको सम्बन्धमा बैठकमा छलफल भएको बताए ।
उनले देशमा अराजकताको संकेतहरु देखापरेका भन्दै त्यसलाई गम्भिरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको बताए । उनले देशमा सामाजिक सद्भाव कायम गर्न सबैले गम्भिरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको बताए ।
प्रवक्ता सापकोटाले सरकारले सुशासनको क्षेत्रमा र भ्रष्टाचार नियन्त्रणमा पहलकदमी लिइरहेको भन्दै सरकारलाई साथ दिन सबैमा अपील गरे ।