धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले हमाललाई नियुक्त गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

सुदूरपश्चिम घर भएका हमालले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी)मा उच्च शिक्षा हासिल गरेका छन्। हमालसँग विदेशका सेयरबजारको ज्ञान र अनुभव छ। उनी यसअघि घरजग्गा कारोबारमा पनि संलग्न रहेको बताइएको छ।

साढे पाँच महिना बढी समयदेखि नेतृत्वविहीन रहेको सेबोनको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएको थियो।

बोर्ड अध्यक्षका लागि छनोट समितिले गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र रमेशकुमार हमालको नाम सिफारिस गरेकोमा सरकारले हमाललाई बोर्ड अध्यक्ष बनाएको हो।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गाना सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा मुछिएपछि गत भदौ १६ निलम्बनमा परेका थिए। त्यसपछि बोर्डमा नयाँ अध्यक्ष नियुक्त गर्न अर्थ अध्यक्ष छनोट सिफारिस समितिले प्रकृया अघि बढाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button