धेरैपछि पेरिसडाँडामा चहलपहल, बैठकमा सबैलाई उस्तै टेबल र कुर्सी

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिबालय बैठक पहिलो पटक पेरिसडाँडास्थित कार्यालयमा बसेको छ ।

तत्कालिन माओवादीको पार्टी कार्यालयमा एमालेसँगैको एकतापछि बनेको नेकपाको जनवर्गीय संगठनहरुको कार्यालय राखिएका थिए ।
नेताहरु कहिलेकाँही पेरिसडाँडा पुग्ने गरेको भएपनि शीर्ष नेतासहितको बैठक भने बसेको थिएन ।

यसअघि नेकपाको अधिकांश वैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै बस्ने गरेको थियो भने केही बैठक धुम्बाराहीस्थित कार्यालयमा बस्ने गरेको थियो ।

पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएसँगै बैठक उनको पूरानो कार्यलयमा राखिएको कतिपयको भनाइ छ ।

केही सता अघिसम्म पार्टी विवादको चुलीमा पुगेको नेकपाको विवाद सकिएको छ । कतिपयले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली पूर्व माओवादीको कार्यालय रहेको पेरिसडाँडा जान्छन् कि जाँदैनन् भन्दै चासो राखिरहेका थिए ।

आज ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केही ढिला गरि पुगेसँगै बैठक सुरु भएको थियो ।

 

उस्तै मेच

नेकपामा लामो समयदेखि मेच र आसनको विषयमा चर्चा हुने गरेको छ ।

कहिले दुई अध्यक्षलाई फरक फरक खालको मेच राखेको विषयले बहस भएको छ । दुई अध्यक्षको आशन अन्य सदस्यको भन्दा माथि र

विशेष खालको राखेको भन्दै यसअघिको बैठकमा स्थायी समिति सदस्यहरुले आपत्ति नै जनाएका थिए ।

पार्टी विवाद समाधान हुँदा बालुवाटारमा समान हैसितमा कुर्सी राख्ने र विवाद उग्र हुँदा दुई अध्यक्षको कुर्सीमा पनि बदलाव आउने देखिएको थियो ।

पछिल्लो स्थायी समिति बैठकको अन्तिम दिन बैठकमा कुर्सीको व्यवस्थापन मिलेसँगै विवाद पनि मिलेको भन्दै टिप्पणी भएको थियो ।

यसैबीच आजको सचिबालय बैठकमा पनि कुर्सीको प्रसंग उठेको छ ।

पेरिसडाँडा कार्यालयमा जारी बैठकमा सबैलाई एकै खालको कुर्सीको व्यवस्था गरिएको छ ।

बैठकमा सबै सचिवालय सदस्यहरूलाई उस्तै कुर्सी र टेबलको व्यवस्था गरिएको छ।

पेरिसडाँडामा चहल पहल

कुनै समय देशको सबैभन्दा ठूलो पार्टी बनेको पूर्व माओवादीको कार्यालय रहेको पेरिसडाँडा निकै चर्चामा हुन्थो । शसस्त्र विद्रोह र भूमिगत राजनीति गरेर आएका नेताहरुसँगको भेटघाटका लागि धेरै नेता कार्यकर्ता पेरिसडाँडा पुग्ने गरेका थिए ।

तर कालान्तरमा पार्टीको हैसियत केही खुम्चियो र अर्को वामपन्थी पार्टी तत्कालिन एमालेसँग एकता गरेसँगै गठन भएको नेकपाको मुख्य कार्यालय धुम्बाराही र जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडा बन्न पुग्यो । जसका कारण पहिलाको जस्तो चहलपहल हुन छोडेको थियो ।
तर आज सचिबालय बैठक सुरु भएसँगै पेरिसडाँडामा छुट्टै चहलपहल देखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button