नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेका व्यक्तिमा कोरोना संक्रमण

काठमाडौं । लकडाउन तथा निषेधाज्ञाका बेला नक्कली प्रेस कार्ड तथा विभिन्न अस्पतालका नक्कली कार्ड बनाएर बिक्री गरेको आरोपमा पक्राउ परेकामध्ये १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
महानरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४ जनामध्ये १ जनामा कोरोना संक्रमण पुष्टि भएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले जानकारी दिए ।
महानगरीय अपराध महाशाखाको टोलीले भदौ २२ गते काठमाडौंको बागबजारबाट ४ जनालाई नक्कली प्रेस कार्डसहित पक्राउ गरेको थियो ।
प्रहरीले बागबजारस्थित कालिका प्रिन्टर्सका सञ्चालक नवलपरासी पश्चिम सुस्ता बर्दघाट नगरपालिका–१३ घर भइ काठमाडौंको रातो पुल बस्दै आएका ३५ वर्षीय लक्ष्मण न्यौपानेसहित ४ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ गरिएका सबैको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा १ जनामा संक्रमण पुष्टि भएको हो ।
पक्राउ परेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई पक्राउ गर्न गएको अपराध महाशाखाको टोलीका सदस्यलाई आइसोलेसनमा राखिएको छ ।