नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेसन सेवा सुरु

काठमाडौं । नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेसन सेवा सुरु गरेको छ । अनलाइन रजिस्ट्रेसन सेवाको सुरुवातसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने भएको कोषले जनाएको छ ।

यो योजना सबै नेपालीलाई सहभागी गराउने गरी ल्याइएको योजना भएको हुँदा इन्टरनेट सेवा पुगेका स्थानबाट सहभागी हुन इच्छुक व्यक्तिहरुले सजिलै सहभागी हुन सक्ने जनाइएको छ । यस योजनामा आय आर्जन गर्ने जोसुकै, प्रचलित कानुनबमोजिम स्थापना भएका संघ-संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्नेछन् ।

यसमा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक पाँच सय रुपैयाँदेखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने संख्यामा रकम जम्मा गर्न सक्नेछन् । बचतकर्ताको आम्दानीका आधारमा मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक रुपमा पनि रकम जम्मा गर्न सकिने विशेषतासमेत यसमा रहेको कोषले जनाएको छ ।

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ वर्ष पश्चात्‌समेत एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भुक्तानी लिन सक्नेछन् । कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन् ।

सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउन सक्ने व्यवस्था रहेको कोषले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button