नारायणहिटी दरबार परिसरमा बनाइएका संरचना भत्काइयो

काठमाडौँ– नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काइएको छ।
रेष्टुरेन्ट सञ्चालनका लागि बतास समूहले संरचना बनाइरहेको थियो । ती संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ।
क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बतास समूहले संरचना बनाउन थालेको सार्वजनिक भएपछि पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा संरचना निर्माण गर्न रोक लगाइएको थियो।
पर्यटन मन्त्री आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुइटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि एक छानबिन समिति गठन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन चलिरहेकै बेला कार्यकारी निर्देशक दाहालले शुक्रबार रेस्टरेन्ट निर्माणको जिम्मा लिएको बतास समूहको बि म्यानेजमेन्टलाई नभई संग्रहालय नियमित मर्मत सम्भारको काम गरिरहेको नवयुवा कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई बगैंचामा निर्माण गरिएका टहरा र सटर भत्काउन लगाएको त्यहाँ सुरक्षाका लागि राखिएको नाराणहिटी प्रहरी गारद गुल्मले जनाएको छ ।