निगमले सार्वजनिक गरेकाे नयाँ उडान तालिका यस्ताे छ

काठमाडौं । नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ ।

सरकारले आजदेखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक निगमले नियमित उडान तालिका निर्धारण गरेको हो ।

जसअनुसार निगमले २, १७ र ३० सेप्टेम्बरमा नारिता उडान भर्नेछ । त्यसैगरी ५, ७, १२, १४, १९, २१, २६ र २८ सेप्टेम्बरमा दुबई उडान भर्नेछ भने क्वालालम्पुरमा आगामी ६, १३, २० र २७ सेप्टेम्बरमा उडान भर्नेछ ।

त्यसैगरी, हङकङमा आगामी ९ र २३ सेप्टेम्बरमा उडान भर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

निगमले नियमित उडान नहुने विभिन्न देशका हवाई गन्तव्यका लागि सेप्टेम्बरको चार्टर उद्धार उडान तालिकासमेत सार्वजनिक गरिएको जनाएको छ ।

चार्टर उद्धार उडानका लागि निगमले जेद्दामा आगामी ५, ११ र २७ सेप्टेम्बर, दमाममा आगामी ७ सेप्टेम्बर, कुवेतमा १४ सेप्टेम्बरमा उडान भर्नेछ ।

यसैगरी, दोहामा आगामी १५, २१, २२, २७ र २९ सेप्टेम्बरमा र रियादमा आगामी १९ सेप्टेम्बरमा नै उडान भर्ने नयाँ तालिका बनाइएको निगमले जनाएको छ ।

नयाँ श्रमिक पनि विदेश जान पाउने

सरकारले रोजगारदाता मुलुक लैजान तयार भए नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नियमित उडान पनि सुरु हुने भएकाले श्रम गन्तव्य मुलुकले माग गरेमा श्रम सम्झौताअनुसार वैदेशिक रोजगारीमा जान चाहने नयाँ कामदारलाई पनि जान दिने निर्णय गरेको हो ।

माग र श्रम सम्झौताका आधारमा नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

सरकारको नयाँ निर्णयअनुसार अब नेपाली कामदार लैजान बाटो खुला राखेका मुलुकमा जान नयाँ श्रम स्वीकृति पनि जारी हुनेछ ।

यसअघि सरकारले बिदामा आएकालाई फर्किन पुनः श्रम स्वीकृति दिन थालिसकेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को गत ७ असारमा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरूका लागि श्रम स्वीकृति दिन सक्ने अधिकार दिएको थियो ।

सरकारले त्यसकै आधारमा वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुनः श्रम स्वीकृति लिएर नेपालीहरू जान पाउने बाटो खुला गरेको थियो ।

अब नयाँ सर्तसहित श्रम स्वीकृति पनि जारी गर्न लागिएको हो ।

गत ३० फागुनदेखि नयाँ श्रम स्वीकृति बन्द थियो ।

अब वैदेशिक रोजगारी खुला भएका र सम्बन्धित मुलुकले लिने अवस्थामा नयाँ श्रम स्वीकृति लिएर नेपालीहरू जान पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button