निर्मला हत्या प्रकरण : डिएसपी जिसीको निलम्बन फुकुवा

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानमा खटिँदा निलम्बनमा परेका दुई डीएसपीको निलम्बन फुकुवा भएको छ।
गृह मन्त्रालयले बिहीबार डीएसपी अंगुर जिसीको निलम्बन फुकुवाको पत्र प्रहरी प्रधान कार्यालय पठाएको हो। यो सँगै अब जिसी हाजिर हुन सक्नेछन्।
केही दिन अघि मन्त्रिपरिषद्ले प्रहरी नियामवली संशोधन गर्दै निलम्बन फुकुवाको बाटो खोलेपछि डीएसपी जिसीको निलम्बन फुकुवा भएको हो।
डीएसपी जिसी, अर्का डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक जगदिश भट्ट, एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो।
बालिका निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले प्रमाण नष्ट गरेको भन्दै उनीहरु निलम्बनमा परेका थिए। तर, कञ्चनपुर जिल्ला अदालतले निलम्बनमा परेका प्रहरीहरु निर्दोष रहेको फैसला गरेको थियो।