निषेधाज्ञाका बीच रथ तान्न खोज्दा पुल्चोकमा तनाव, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

काठमाडौं । निषेधाज्ञाका बीच स्थानीय युवाहरुले रातो मच्छिन्द्रनाथको रथ तान्न खोज्दा ललितपुरको पुल्चोचकमा तनाव उत्पन्न भएको छ ।
प्रहरीले रथ तान्नेहरुलाई रोक्न खोज्दा प्रहरी र स्थानीयबीच झडप समेत भएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न भन्दै जारी गरिएको निषेधाज्ञाको आदेश उल्लंघन गर्दै रातो बिहीबार मच्छिन्द्रनाथको रथ तान्न खोजिएको थियो ।
निषेधाज्ञाका बीच सर्वसाधारणले ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथको रथ तान्न खोज्दा प्रहरीले रोकेको थियो ।
प्रहरीले रथ तान्न रोकेर त्यहाँ जम्मा भएका स्थानीयलाई तितर बितर पार्दा स्थानीयले प्रहरीमाथि ढुङ्गा–मुडा गरेका थिए ।
रथ तान्न जम्मा भएकालाई हटाउन प्रहरीले वाटर क्याननमार्फत पानीको फोहोरा हान्न खोज्दा युवाहरुले ढुङ्गामुडा प्रहार गरेका हुन् ।
स्थानीय युवाले ढुङ्गामुडा प्रहार गरेपछि प्रहरीले केही राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।
पुल्चोकको सडक किनारमा रहेको रथ तानेर युवाहरुले सडकको बीचमा पु-याएका थिए । रथ तान्नका लागि बिहीबार बिहान पुल्चोकमा ठूलो संख्यामा स्थानीयहरु जम्मा भएका थिए ।