निषेधाज्ञाले काठमाडौं उपत्यका सुनसान

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । यससँगै आज विहानबाट अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गरिएको छ ।
स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका आज (बिहीबार) बिहानैदेखि सुनसान देखिएको छ ।
स्थानीय प्रशासनले लागू गरेकाे निषेधाज्ञाको कारण बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा मानिसहरुको आवत जावत न्युन छ।
सडकमा प्रहरीको संख्या बढाइएको छ। सडकमा गुड्ने सवारी साधन र अत्यावश्यक काममा पैदल हिँड्नेसँग पनि प्रहरीले सोधपुछ गरेर मात्र छाड्ने गरेका छन्।
ठाउँठाउँमा प्रहरीले माइकिङ गर्दै निषेधाज्ञाको पालना गर्न अपिल गरिरहेको छ। कतिपठ ठाउँमा भने स्थानीय प्रशासनले नै बिहान सात बजेसम्म किराना पसल खोल्न दिएको छ।
यसअघि कोरोना महामारीका कारण एक जना संक्रमित देखिएपछि सरकारले गत चैतबाट लकडाउन गरेको थियो । लकडाउन जारीरहँदा संक्रमित नघटेपनि सरकारले लकडाउन खुकुलो पार्यो ।
लकडाउन खुकुलो पारेसंगै उपत्यकामा दैनिक संक्रमितको संख्या बढेसंगै उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेकोछ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा छुट पाउने वस्तु तथा सेवाको सूची सार्वजनिक गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल पाण्डेका अनुसार निषेधाज्ञाको समयमा खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा सञ्चालन गर्न पाइनेछ ।
त्यस्तै बीउबिजन, मासुजन्य पदार्थ, दाना र भेटरीनरी, बैंक, बिमा, औषधिजन्य सामग्री, स्वास्थ्यसँग सम्बन्धित अन्य सामग्री, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ, फोहोर मैला व्यवस्थापन आदि सेवा पनि सञ्चालन हुने प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै, एम्बुलेन्स/शव वाहन/दमकल, कूटनीतिक नियोग, डाक तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी कार्य, सञ्चार सेवा, विद्युत सेवा, मृत्यु संस्कार सम्पन्न गराउने व्यक्ति चढेको सवारी साधन निषेधाज्ञामा सञ्चालन हुन पाउँछन् ।
विवाहमा ७ जना मात्र जन्ती जान पाउने प्रावधान राखिएको छ ।
यसबाहेक कोभिड १९ को क्वारेन्टिन, आइसोलेसनको व्यवस्थापनसम्बन्धी काममा रहेकाहरुको सवारी साधनलाई फोटोसहितकोपरिचय पत्र र कार्य प्रयोजन खुल्ने सामग्री देखाएमा छुट दिइने छ ।