नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं । बजेट पारित गर्ने प्रक्रिया चलिरहँदा सरकारलाई एमसीसी पारित नगर्ने दबाब बढेको छ । नेकपाभित्र एमसीसी पारित गर्न नहुने मत बलियो बन्दै गएपछि सरकार अप्ठ्यारोमा परेको हो ।

नीति तथा कार्यक्रम र बजेटको बुँदा नम्बर २११ मा अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजनासँग सम्बन्धित कार्यक्रम परेपछि पार्टीले स्पष्टीकरण समेत माग गरेको थियो ।

बजेटको भोलिपल्टै सचिवालय बैठक बसेर एमसीसी सदनको अङ्ग बनिसकेकाले ‘संसद्ले पास गरे पास, हुने फेल गरे फेल हुने’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडा उम्किएका थिए ।

कोभिडको कहरबीच बजेट पास गर्नुपर्ने हतारो बढिरहँदा एमसीसी टुङ्ग्याउनुपर्ने चटारोमा पनि छ नेकपा ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमसीसीबारे निर्णय गर्न जेठ २७ गते मङ्गलबार अपराह्न ४ बजे बैठक बोलाइएको जानकारी दिए ।

“सम्भवतः बैठकको कार्यसूची एमसीसी नै हुनेछ । उनले भने, “अहिलेको अवस्थामा एमसीसी कुनै हालतमा पारित गर्नु हुँदैन ।

सरकारका केही मान्छे घुमाइफिराइ एमसीसी पारित गर्न लबिङ थालेकोतर्फ सङ्केत गर्दै खनालले जति फन्का घुमे पनि एमसीसी पास नहुने बताए ।

“जहाँ जो जति फन्का घुमे पनि पास हुँदैन,” उनको अडान थियो ।

सचिवालयका बहुसंख्यक नेताहरू (९ मध्ये ५) एमसीसी पास गर्नुहुँदैन भन्ने पक्षमा छन् । खनालले सचिवालयले टुङ्गो लगाउन नसके स्थायी कमिटी बोलाएर छलफल गर्न माग गरेका छन् ।

गत माघ १९ गते सकिएको केन्द्रीय कमिटी बैठकले खनालकै संयोजकत्वमा अध्ययन कार्यदलसमेत गठन गरेको थियो । कार्यदलले एमसीसी अमेरिकी सरकारको हिन्द–प्रशान्त रणनीति अन्तर्गत भएको ठहर गर्दै संशोधनसहित पास गर्न सुझाव दिएको थियो । कार्यदलले ३२ बुँदे सुझाव पनि दिएको छ ।

तीन सदस्यीय कार्यदलमध्ये खनाल र भीम रावल पारित गर्न नहुने अडानमा देखिन्छन् भने अर्का सदस्य प्रदीप ज्ञवालीले फरक मत राखेका छन् ।

फाइल तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button