नेकपा एकीकृत समाजवादीका तर्फबाट नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन् ।
नयाँ मन्त्रीहरु जीवनराम श्रेष्ठ– (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय), मेटमणि चौधरी (सहरी विकास मन्त्रालय) भवानीप्रसाद खापुङ (स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) र शेरबहादुर कुँवर (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय) ले सपथ दिएका हुन् ।
राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्य विभाजन तोकेकी हुन् ।
मन्त्रीहरुको शपथपछि शीतल निवासमै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री देउवासमक्ष नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले पद तथा गोपनीयताको शपथ लिए ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख र पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।