नेकपा नाम र सूर्य चिन्ह नपाउने अवस्था आएमा आँधीवेहरी आउने प्रचण्डको चेतावनी

पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी नेकपा र सूर्य चुनाव चिन्ह आफूहरूले पाउने बताएका छन् ।

यसबारे सोमबार निर्वाचन आयोग गएर आएपछि थप प्रष्ट भइसकेको उनको भनाइ थियो ।

मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलामा प्रचण्डले ५० प्रतिशत केन्द्रीय सदस्य हुनेले नाम र चिन्ह पाउने भए पनि आफूहरूसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको दाबी गरे ।

प्रचण्डले सूर्य चिन्ह र नेकपा नाम नपाउने अवस्था आएमा आँधीवेहरी आउने चेतावनीसमेत दिएका छन् ।

‘नाम र चिन्ह हाम्रो हुन्छ। नेकपा र सूर्य चिन्ह हाम्रै हो,’ उनले भने, ‘यसमा कुनै द्विविधा राख्नु पर्ने छैन।’

उनले नेकपा नाम र सूर्य चिन्ह आफूहरूले पाउनेमा शतप्रतिशत विश्वस्त रहेको पनि बताएका छन् ।

‘प्रचण्ड’ले जनयुद्ध कुहिएको फर्सी थियो भन्ने कुराले आफूलाई हाँसो लोगेको बताएका छन् ।

प्रचण्डले त्यस्तो कुरा कसरी सुन्न सकेको भनेर आफ्ना पूर्व सहकर्मीहरुप्रति प्रश्न गरेका छन् ।

उनको भनाइ थियो, ‘पूर्वमाओवादी साथीहरु, जो केपी गुटमा जानु भएको छ, उहाँहरुले कसरी सुन्न सक्नु भयो कि जनयुद्ध कुहिएको फर्सी थियो भनेको?’

जनयुद्ध ठीक थियो भनेर गरेको हस्ताक्षर कीर्ते थियो ? भनेर उनले ओलीप्रति पनि प्रश्न खडा गरेका छन् ।

‘के जनयुद्ध कुहिएको फर्सी थियो भने कमरेड केपीले जनयुद्ध ठीक भनेर गरेको हस्ताक्षर कीर्ते थियो त ?,’ उनको प्रश्न थियो ।

प्रचण्डले मदन भण्डारीको लाइन छोड्ने माधव नेपाल नभइ ओली नै भएको दावी गरे ।

‘प्रधानमन्त्री पदका लागि मात्रै समाजवादउन्मुख रहेछ, जबज प्राप्त गर्नका लागि होइन रै’छ,’ प्रचण्डको भनाइ छ, ‘एउटा प्रधानमन्त्री पद पाउनका लागि मात्रै यो सब गर्नु भएको रहेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button