नेकपा विवाद– ओलीलाई नभेटेरै बालुवाटारबाट फर्किए कार्यदलका सदस्य

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधानका छलफल गर्न भनेर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका विघटित कार्यदलका सदस्य भेटवार्ता नै नगरी फर्किएका छन् ।
पार्टी भित्र देखिएको समस्याबारे छलफल गर्न भनेर महासचिव विष्णु पौडेलको नेतृत्वमा गत साउन अन्तिम सातातिर गठन भएको विवाद समाधान कार्यदलका सदस्य ओलीसँग छलफल गर्न भनेर सोमबार दिउँसो बालुवाटार गएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत महासचिव विष्णु पौडेलको आग्रहअनुसार बालुवाटार पुगेका उनीहरु प्रधानमन्त्री ओलीसँग भेट नगरी फर्किएका हुन् ।
कार्यदलका संयोजक एवम् महासचिव पौडेल तथा कार्यदलका सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र शंकर पोखरेल बालुवाटार पुगेका थिए । तर, अन्य २ सदस्यहरु नआएपछि आफूहरु पनि फिर्ता भएको रावलले जानकारी दिए । तत्कालीन माओवादीबाट प्रतिनिधित्व गर्ने सदस्यहरु जनार्दन शर्मा र पम्फा भुसाल बालुवाटार नगएका हुन् ।
गत असारदेखि जारी स्थायी कमिटी बैठकका क्रममा नै पार्टीभित्र आन्तरिक विवाद चुलिएपछि साउन ३० गते महासचिव पौडेलको नेतृत्वमा विवाद समाधान कार्यदल गठन गरिएको थियो ।
कार्यदलमा महासचिव पौडेलसहित स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल र ईश्वर पोखरेल सदस्य थिए ।
गत शनिबार अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ताका क्रममा ओलीले ‘सहमति’मै पार्टी फुटाउने प्रस्ताव राखेको विषय बाहिर आएको थियो ।
ओलीले सहमतिमै पार्टी फुटाउने प्रस्ताव राखेको विषय बाहिर आएपछि नेकपा भित्रको आन्तरिक विवाद झन चर्किएको छ ।
अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधरले तत्काल बैठकको माग गरेको छ भने ओली बैठक डाक्ने विषयमा सकारात्मक छैनन् ।
शुक्रबार प्रचण्डको नेतृत्वमा बसेको बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले गरेको निर्णयानुसार अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यले आइतबार भेटेर २ दिनभित्र पार्टीको बैठक डाक्न समयसीमा दिएका थिए ।
बैठक डाक्न भनेर ओलीलाई दिइएको समयसीमा आज (सोमबार) सकिँदै छ ।