नेकपा विवाद थप पेचिलो बन्दै, प्रधानमन्त्री ओलीले कठोर कदम चाल्न सक्ने संकेत

काठमाडौं । कोरोना संक्रमणको महामारीकाबीच हिन्दू नेपालीहरु तिहारमा व्यस्त रहँदा सत्तारुढ दल नेपाल कम्यनिस्ट पार्टी (नेकपा) भित्रको विवाद भने तात्दै गएको छ ।

गत शुक्रवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीमाथि ‘गम्भीर’ आरोप लगाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवदेन पेश गरेपछि नेकपामा देखिएको विवाद थप पेचिलो बनेको छ ।

गत भदौको अन्तिम साता सकिएको स्थायी कमिटी बैठले समाधान गरेको भनिएको नेकपाको विवाद कात्तिक नलाग्दै पुन: बढ्न थालेको थियो । यसबीचमा अध्यक्षद्वय ओली र प्रचण्डबीच भएका एक्ला–एक्लै वार्तामा ओलीले सहमतिमै पार्टी विभाजन गर्नेसम्मको प्रस्ताव राखेको विषय पनि बाहिर आएको थियो । ओलीले पार्टी सचिवालयको बैठक बोलाउन नमानेको भन्दै अध्यक्ष प्रचण्डले १ हप्ताको फरकमा २ पटक बहुमत सचिवालय सदस्यको ‘अनौपचारिक’ बैठक पनि बोलाए ।

अघिल्लो शुक्रबार प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल तथा माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सम्मेलित अनौपचारिक बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो । उक्त बैठकपछि पाँचै जना नेताहरुले ओलीलाई भेटेर सचिवालय बैठक बोलाउन सहमति जनाउन लिखित रुपमै अनुरोध गरेका थिए ।

ओलीले पत्रमा अनुरोध गरिएजस्तै गरी बैठक बोलाउन सहमति त जनाएनन्, तर लिखित अनुरोध पत्रमार्फत नै जवाफ दिए । बहुमत सचिवालय सदस्यले आफुलाई लेखेको पत्रको जवाफ दिँदै ओलीले पार्टी अध्यक्ष प्रचण्डसहित नेताबाट सरकारलाई असयोग भएको, गुटबन्दी गरेको तथा कार्यकारी अधिकार दिँदा पनि प्रचण्डले कुनै काम नगरेको आरोप लगाए ।

त्यसपछि प्रचण्डले पनि ओलीको पत्रको जवाफ पत्र मार्फत नै दिए । प्रचण्डले ओलीको पत्रको जवाफ मात्रै दिएनन्, आफुसहित बहुमत (५ जना सचिवालय सदस्य)ले ओलीलाई बैठक बोलाउन सहमति जनाउन अनुरोध गर्दै लेखेको पत्र, पत्रका सम्बन्धमा ओलीले दिएको जवाफ र ओलीको जवाफका सन्दर्भमा आफूले ओलीलाई लेखेको अर्को पत्र समेतको विषयलाई समेटेर कात्तिक २८ गते बसेको सचिवालय बैठकमा एक छुट्टै प्रस्ताव पेश गरे ।

‘ओलीमा गम्भी विचलन’ आएको लगायतका आरोपसहित प्रचण्डले सचिवालय बैठकमा लिखित प्रस्ताव पेश गरेपछि ‘नेकपामा अब के हुन्छ ?’ भन्ने चासो नेपालको राजनीतिक वृत्तमा व्याप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button