नेकपा स्थायी कमिटीको बैठक आज : अध्यादेश फिर्ता गराउन प्रचण्ड–नेपाल पक्षले दबाब दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यसअघि आइतबार शोक प्रस्ताव पारित गर्दै आजसम्मका बैठक लागि स्थगित गरिएको थियो ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्शविनै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि आजको बैठकलाई चासोकासाथ हेरिएको छ ।

प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन् ।

ओलीले पार्टीमा परामर्श नै नगरी ल्याएको अध्यादेश फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।

अध्यादेश जारी भएलगत्तै असन्तुष्ट स्थायी कमिटीका बहुमत सदस्य हिजो खुमलटारमा भेला भएका थिए ।

उनीहरुले आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने निष्कर्ष निकालेका छन् ।

पार्टीभित्र देखिएको अन्तरविरोध र यसले निम्त्याएको समस्या समाधानमा केन्द्रित हुने बेला प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झन् चर्किएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको कदमले आफूरुबीचको दूरी झनै बढेको प्रचण्डले बताएका छन् ।

केही समययता नेकपामा जारी विवादकाबीच आएको अध्यादेश प्रकरणले नेकपाको भविश्यमा प्रश्न उठेको छ ।

सत्तारुढसँगै विपक्षी दल र अरु क्षेत्रबाट पनि अध्यादेशको चौतर्फी विरोध भएको छ ।

नयाँ अध्यादेश अनुसार संवैधानिक परिषदको बैठक हिजो बेलुकी बसेको थियो ।

बैठकले कुनै निर्णय भने गरेन । नयाँ अध्यादेश अनुसार अब अध्यक्षसहित परिषदका बहुमत सदस्यको उपस्थितीमै बैठक बस्न सक्नेछ भने निर्णय गर्न पनि सक्नेछ ।

यसअघि पाँच जना सदस्य उपस्थित भएमा मात्रै बैठक सुरु गर्न सकिने व्यवस्था थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button