नेताहरुलाई जिम्मेवारी तोक्न माधव नेपालको नेतृत्वमा कार्यदल गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टी भित्रका बिभिन्न जिम्मेवारी तय गर्न कार्यदल गठन गरेको छ ।

पार्टीका नेताहरुलाई जिम्मेवारी तोक्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरिएको हो ।

उक्त कार्यदलले पार्टी भित्रका विभिन्न जिम्मेवारीबारे टुंगो लगाउने र पार्टी एकताका थप काम गर्ने प्रचण्ड-नेपाल समूहका नेताहरुको भनाई छ ।

आईतबार पेरिसडाँडामा अध्यक्ष नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको स्थायी कमिटी सदस्य योगेश कुमार भट्टराईले जानकारी दिए ।

स्थायी कमिटी बैठक सोमबार १ बजे फेरि बस्ने भट्टराईले बताए । बैठकका लागि आज एजेन्डा पनि तय भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।

प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै एक महिने संघर्षका कार्यक्रम पनि घोषणा गरिसकेको छ ।

आन्दोलनलाई थप व्यवस्थित बनाउने, प्रदेश सरकारहरूबारे र ओलीले पार्न सक्ने प्रभावलगायत एजेन्डामाथि सोमबारको स्थायी कमिटी बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

पार्टीका नेताहरूलाई दिइएको जिम्मेवारी हेरफेर गर्नेलगायत एजेन्डामाथि पनि सोमबार छलफल हुने भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button