नेपालका स्वास्थ्य प्रयोगशालाहरुको कोरोना परीक्षण विश्वसनीय भएन : नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल वायु सेवा निगमले देशका प्रयोगशालामा भएको कोरोना परीक्षण विश्वसनीय नहुँदा आफूलाई ठूलो आर्थिक नोक्सानी भएको र प्रतिष्ठामा आँच पुगेको जनाएको छ।
एअरलाइन्सले आज विज्ञप्ति निकालेर सजगताका साथ पीसीआर परीक्षण गर्न प्रयोगशालालाई अनुरोध पनि गरेको छ। नेपालका प्रयोगशालाको कोरोना नेगेटिभको रिपोर्ट दिएका यात्रुलाई नेपाल एयरलाइन्सले गन्तव्यमा पुर्याएर त्यहाँ परीक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिने गरेको छ।
जसका कारण कोरोना संक्रमित यात्रु ल्याएको भन्दै केही देशले नेपाल एयरलाइन्सको उडानमा प्रतिबन्ध लगाएका छन्। नेपाल एअरलाइन्सका यात्रुमा कोरोना देखिएपछि हङकङले उडानमा प्रतिबन्ध लगाइसकेको छ ।
दुबई र नारिता विमानस्थलले नेपाल एयरलाइन्सलाई चेतावनी पठाएका छन् । जसका कारण एयरलाइन्सले नेपालका प्रयोगशालाको विश्वसनियतामाथि नै प्रश्न उठाएको हो।
विज्ञप्ति मार्फत एअरलाइन्सले नेपालमा रिपोर्ट नेगेटिभ देखाउने तर अरु देशमा गएर परीक्षण गर्दा पोजेटिभ आएमा त्यसको सम्पूर्ण जिम्मेवारी यात्रु स्वयंले लिनुपर्ने पनि स्पष्ट पारेको छ।
यस्तो छ नेपाल वायुसेवा निगमको विज्ञप्तिको पूर्णपाठ
नेपाल वायुसेवा निगम समस्त यात्रुहरुको सुरक्षा तथा सरोकारवाला निकायहरुको मापदण्डका सन्र्दभमा सचेत र सजग छ । विश्वव्यापी कोरोना महामारीका कारण हवाई उड्डयनको क्षेत्रमा परेको समस्या तथा स्वास्थ्य सुरक्षाका अतिरिक्त मापदण्डहरु लागु गर्ने गराउने कुरामा कुनै सम्झौता गरिएको छैन ।
यसै बिच निगमले उडान गर्ने गन्तव्यहरुमा यात्रा गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वाट मान्यता प्राप्त प्रयोगशाला बाट RT-PCR Test गरी ७२ घण्टा भित्रको रिर्पोटलाई मान्यता दिई आएको भएता पनि विगत केही दिन देखी हङकङ्ग, दुवई, नारिता जस्ता गन्तव्यहरुमा ७२ घण्टाको RTPCR रिपोटका बावजुद पनि ती स्थानहरुमा पुनः परिक्षण गर्दा कोभिड १९ संक्रमण पोजेटिभ देखिएकोले सम्बन्धित देशका निकायहरुले निगमलाई सचेत गराउनुको साथै कतिपय उडान गर्न समेत रोक लगाएकोले निगमलाई आर्थिक तथा प्रतिष्ठाको दृष्टिले ठूलो नोक्सानी पर्न गएको छ । यि घटनाहरुले निगमको मात्र नभई समग्र देशकै प्रतिष्ठामा नकारात्मक असर पर्नुको साथै नेपालका स्वास्थ्य प्रयोगशालाहरुको विश्वसनियातामै प्रश्न खडा गरेको छ ।
तसर्थ निगम नेपालका सरकारबाट मान्यता प्राप्त स्वास्थ्य प्रयोगशालाहरुलाई सजकता अपनाउन अनुरोध गर्दछ । साथै सम्पूर्ण यात्रु महानुभावहरुलाई RT-PCR Test नमुना दिए पश्चात समेत विषेश सावधानी अपनाई पुर्ण रुपमा सजग रहनु हुन अनुरोध गर्दछ । रिर्पोट नेगेटीभ देखाएर उडान गर्ने यात्रुहरुको सम्वन्धीत देशहरुमा पुनस् परिक्षण गर्दा पोजेटीभ देखिएमा त्यसको सम्पुर्ण जिम्मेवारी यात्रु स्वयम्ले लिनु पर्ने व्यहोरा समेत जानकारी गराउदछौं।
हवाई उडानको क्षेत्रमा सुरक्षा, विश्वसनियता र आधुनिकीकरणको ठुलो भुमिका रहेको हुन्छ । अहिलेको प्रतिस्पर्धात्मक यूगमा आफ्नो सेवा र सुरक्षालाई समायानुकुल सुधार गर्न सकिएन भने व्यवसायिक सफलताको साथै ग्राहक सेवा समेत चुस्त बनाउन सकिदैन । यही कुरालाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले करिब २६ वर्षदेखि प्रयोग गर्दै आएको SITA flight planning software कम्पनीले विकाश गरेको अत्याधुनीक (NAVBLUE Flight planning (N-FP)पुर्ण रुपमा लागु गरेको छ।
N-FP प्रणालीमा मौसम पूर्वानुमान NOTAM, RAIM Prediction, overfly Charges, Route and Fuel optimization लगायतका वहुउपयोगी विषेशताहरु रहेका छन। यो परिवर्तनले निगमको हाल चलाई आएको प्रणालीको तुलनामा निगमको करिब ३०प्रतिशत खर्च समेत वचत हुनेछ।
हवाई उडानलाई सुरक्षीत भरपर्दो र प्रविधीमैत्री वनाउने कुरामा निगम प्रतिवद्व छ।