नेपालका समर्पण लामा बने ‘इन्डियाज् बेस्ट डान्सर’ सिजन–३ को विजेता

काठमाडौं । भारतको चर्चित डान्स रियालिटी शो इन्डियाज् बेस्ट डान्सर सिजन ३ को विजेता चितवन टाँडीका समर्पण लामा बनेका छन्।
शनिबार सोनि इन्टरटेनमेन्ट टेलिभिजनबाट सार्वजनिक गरिएको आइबिडीको फिनालेमा समपर्ण लामाले सर्वाधिक भोट ल्याउँदै आइबिडीको उपाधी जितेका हुन् । उनले यो सँगै १५ लाख भारु नगद प्राप्त गरेका छन् ।
लामालाई जजहरुले कन्टेम्पेररी डान्सको आइकन नै मान्दै आएका छन् । उनको डान्स विधामा कन्टेम्पररी डान्स निकै आकर्षक र लोभलाग्दो मानिन्छ । त्यही मिहिनेतले उनलाई भारतको चर्चित रियालिटी शोमा पुर्यायो र विजेता पनि बनायो।
नृत्य कौशलमा अब्बल रहेका उनको नृत्य क्षमताबाट भारतीय चर्चित कोरियोग्राफर टेरेन्स र गीता समेत प्रभावित भए। कार्यक्रममा आउने अधिकांश अतिथिहरूको उनी प्रिय बने। कार्यक्रमबाटै भारतमा उनको राम्रो फ्यान फलोइङ बनिसकेको थियो। जसको साथले उनी फाइनलसम्म पुगेनन् मात्र विजेता नै भए।
को हुन समपर्ण लामाः
२१ वर्षिया समर्पण लामा बुवा धिरेन लामा र आमा सुधा विष्टको जेठो छोरा हुन् । उनको स्थायी घर चितवन जिल्ला रन्तनगर नगरपालिका वडा नं.१३ माधवपुर, टाँडी हो । उनका वुवा धिरेन लामा बैदेशिक रोजगारीको शिलशिलामा कतारमा काम गर्छन् भने उनकी आमा सुधा विष्ट गृहणी हुन् ।
उनले चितवनको टाँडीमा भएको अन्नपूर्ण मावि स्कूलबाट एसईई सकेर त्यहीकै जनजागृती पिठुवा क्याम्पसबाट बाह् कक्षा पास गरेका छन् ।
सानैदेखि नै फरक प्रतिभा भएका लामा केही समय अघिसम्म टाँडीमा नृत्य सेन्टर संचालन गरेर स्थानीय युवाहरुलाई नृत्य सिकाउँदै आएका थिए । उनमा क्यारिकेचर गर्ने कला पनि भएको कुरा उनका बुवा धिरेन लामा बताउँछन् ।