नेपालको पुँजीबजारमा कारोबारले इतिहास रच्यो

काठमाडौं । यो साता नेपालको पुँजीबजारमा कारोबारले इतिहास रचेको छ । साताको पाँच दिनमा ११ अर्ब २० करोड ५४ लाखको कारोबार भएको छ । ११ अर्ब २० करोड माथिको कारोबार भएको साता कुल १८४ कम्पनीको १ लाख ३ हजार ५ सय २ पटक कारोबार भएको छ ।

साताको अन्तिम दिन २ अर्ब ७८ करोडको कारोबार भएर कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा सोही साता साप्ताहिक कारोबारले पनि रेकर्ड कायम गरेको छ । कारोबार रकमसँगै सेयर बजार मापन गर्ने परिसूचक नेप्से पनि २०७५ वैशाख यताको उच्च विन्दुमा पुगेको छ । २०७५ वैशाखमा १४ सय ३८ पुगेको बजार हिजो २०७६  फागुन ८ गते बिहीबार १४ सय ३४ मा पुगेको छ ।

यो साता कारोबार भएको पाँचै दिनमा बढेको सेयर बजार साताभर कुल ८९.९८ अंकले बढेको छ । साताको पहिलो दिन आइतबार  १४.८४ अंकले बढेको बजारमा १ अर्ब ९७ करोड ८१ लाखको कारोबार भएको छ । साताको दोस्रो दिन सोमबार ३४.२६ अंकले वृद्धि हुँदा २ अर्ब ६८ करोड ७५ लाखको कारोबार भएको थियो ।

नेप्सेमा वृद्धि हुँदा बजार पुँजीकरण पनि १ खर्ब १५ अर्ब माथिले बढेर १८ खर्ब ३१ अर्ब ८ करोड पुगेको छ । गत साताको अन्तिम कारोबार दिनमा कुल बजार पुँजीकरण १७ खर्ब १५ अर्ब ७२ करोड रहेको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button