नेपालमा कोरोना संक्रमितको संख्या १२ पुग्यो : वीरगञ्जबाट थप २६ जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखियो

वीरगञ्ज – नेपालमा रहेका तीन भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जमा थप तीन जनामा कोरोना संक्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । उनीहरु तीनैजना भारतीय नागरिक हुन् ।
नेपालमा अब संक्रमितको संख्या १२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये एक जना भारत नयाँ दिल्लीका र दुईजना उत्तर प्रदेशका बासिन्दा रहेका छन् । यसअघि संक्रमण देखिएका ९ जनामध्य १ जना उपचारपछि घर फर्किएका छन् भने ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
वीरगञ्जको छपकैया र घुसुकपुरमा रहेको मस्जिदमा बसेका २६ जनालाई प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको छ ।
प्रहरीले मस्जिदमा बसेका १९ जना मुस्लिम धर्मगुरुसहित २६ जनालाई नियन्त्रणमा लिई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखेको हो । उनीहरु मध्ये १९ जना भारतीय जमाती र वीरगञ्जका ३ जना नेपाली मुस्लिम धर्मगुरु र ४ जना भारतबाट पाहुना आई मस्जिदमा बसेकोहरु रहेको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले छपकैया टोलको मस्जिदबाट ११ जना र घुसुकपुर टोलमा रहेको मसिजदबाट १५ जना गरि २६ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राखेका मध्ये १९ मुस्लिम जमातीहरु, भारतको दिल्ली र सो आसपास क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।